७५ हजार म्यादी प्रहरी भर्ना गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ, २९ चैत । सरकारले स्थानीय तहको निर्वाचनका लागि ७५ हजार म्यादी (आवधिक) प्रहरी नियुक्ति गर्न स्वीकृति दिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले राजविराज घटनामा मृत्यु भएका इनर यादवको परिवारलाई क्षतिपूर्तिस्वरूप रु दश लाख दिने निर्णय पनि गरेको छ । भारतीय सेनाको गोली लागेर मृत्यु भएका बासुदेव साहलाई सहिद घोषणा गर्दै क्षर्तिपूर्तिस्वरूप परिवारलाई रु दश लाख प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । त्यसैगरी भोजपुर र तेह्रथुममा आगलागी भएको गाउँमा १५ लाख र सहरमा रु २५ लाखसम्म सहुलियत दरमा ऋण दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

“सिरहाको दलित बस्तीमा पछिल्लो पटक भएको आगलागीबाट पीडित भएकालाई तुरुन्त राहत उपलब्ध गराउने निणर्य गरिएको छ, चीनको ल्हासामा महावाणिज्य दूतावासको भवन निर्माणका लागि चीन सरकारसँग सहयोग पत्रमा हस्ताक्षर गर्ने अधिकार महावाणिज्यदूत गोविन्दबहादुर कार्कीलाई दिइएको छ”–प्रवक्ता कार्कीले भन्नुभयो ।

मन्त्रिपरिषद्ले जातीय भेद्भाव र (कसुर सजाय) नियमावली, २०७३ लाई स्वीकृत गर्ने र स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्न स्वीकृत प्रदान गरेको छ ।

काठमाडौँको वातावरण पर्यावरणको हिसाबले अत्यन्त बिग्रिएको हुँदा त्यसमा सुधार ल्याउनका लागि विभिन्न मन्त्रालयका सचिवको समन्वयमा काम अगाडि बढाउन मन्त्रिपरिषद्को बैठकले सरकारका मुख्य सचिवलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बैठकले प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा गर्नेसम्बन्धी विधेयकलाई व्यवस्थापिका–संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्नुका साथै नेपाली सेनाका लागि जहाज खरिद गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री