नयाँ संविधान संशोधन विधेयक दर्ता

व्यवस्थापिका संसद् सचिवालय सिंहदरबारमा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २९ चैत । सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । आज दर्ता गरिएको विधेयकमा सिमाना हेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।

सबैको सहमतिमा नयाँ प्रस्ताव – कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सरकारले ल्याएको संविधान संशोधन नयाँ प्रस्ताव सबैको सहमतिमा पारित हुने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कारमा उहाँले नयाँ संशोधन प्रस्ताव एमाले र मधेसी मोर्चा दुवैको सहमतिमा ल्याइएको जिकिर गर्नुभयो ।

“पुरानो संशोधन प्रस्ताव फिर्ता भएको छ । नयाँ प्रस्ताव वैशाख ७ गते संसद्मा टेबल हुनेछ । प्रस्तावबारे मधेसी मोर्चासँग पनि ठोस सहमति भएको छ । उहाँहरुका सबै मागको सम्बोधन हुनेछ”– मन्त्री नायकले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नयाँ संशोधन प्रस्ताव पहिलेकोभन्दा पनि खतरापूर्ण भएको आरोप लगाउनुभयो ।

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले मोर्चासँग छलफल नगरिकनै पहिले पेस भएकोे प्रस्ताव फिर्ता लिई नयाँ प्रस्ताव ल्याउन लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री