
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता शिक्षाका लागि तयार गरेको पोस्टर । तस्बिर ः नारायण न्यौपाने, रासस
काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ ।
स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ ।
सो निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । तीमध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष, ६९ लाख ८४ हजार छ सय २५ महिला र एक सय ४३ तेस्रो लिङ्गी छन् ।
विसं २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै स्थानीय तह निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि एक करोड ५४ लाख मतपत्र छाप्ने छ । हालसम्म ५५ जिल्लाको मतपत्र छापिसकेको बताइएको छ । त्यस्तै ५५ लाख मतदाता परिचयपत्र पनि तयार भइरहेको छ । हालसम्म मतदान केन्द्रको यकिन गरी नसकिए पनि करिब त्यो सङ्ख्या करिब २१ हजार हुनेछ ।
स्थानीय तहको निर्वाचनका लागि आयोगलाई कम्तीमा पनि ८४ हजार मतपेटिका आवश्यक पर्ने छ । कुल सात सय ४४ स्थानीय तहमा हुने उक्त निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य समेत गरी ३६ हजार छ सय ३९ जना निर्वाचित हुने छन् । स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति भन्ने बुझिन्छ ।
आगामी निर्वाचनमा मतदाता शिक्षाका लागि करिब ५५ लाख पोस्टरसहितको नौ प्रकारका मतदाता शैक्षिक सामग्रीको व्यवस्थापन गरी २१ हजार स्वयम्सेवीलाई घरदैलामा खटाउने तयारी भइरहेको छ ।
आगामी निर्वाचनका सन्दर्भमा आयोगले एक लाख २६ हजार कर्मचारी परिचालन गर्दैछ । निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गर्ने चरणमा अहिले आयोग रहेको छ । विगतको निर्वाचनको अनुभव र हाल लामो समयपछि हुन लागेको हुनाले यस पटकको निर्वाचनमा सबै पदमा गरी झन्डै तीन लाख २६ हजारको हाराहारीमा उम्मेदवार रहने अनुमान छ ।
स्थानीय गाउँ तथा नगरपालिकामा मतदाता नामावलीमा नाम समावेश भएका, २१ वर्ष उमेर पुगेका, नेपाली नागरिक र कानुनले अयोग्य नभएको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था छ ।
मतदाता प्रशिक्षकले आगामी वैशाख १ गतेदेखि प्रत्येक घरदैलामा पुगेर मतदातालाई मतदान गर्न, उम्मेदवार बन्न र पछि नेतृत्व लिन सक्ने गरी शिक्षित तुल्याउनेछन् ।
स्थानीय तहको आगामी निर्वाचनमा सात पदका लागि सात अलग-अलग मत चिह्न रहेको मतपत्रको कोठामा स्वस्तिक छाप लगाउनुपर्ने छ । जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याका आधारमा आयोगले स्थानीय तहको निर्वाचनका लागि छ आकारको मतपत्र तयार गरेको छ ।
सबैभन्दा ठूलो मतपत्रमा चार सय ७६ चुनाव चिह्न रहने छन् । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने २७ सहित निर्वाचन आयोगमा हाल एक सय १३ राजनीतिक दल दर्तामा छन् । स्थानीय तहको निर्वाचनका लागि मतपत्र, मतपेटिका, मतदाता नामावली, स्वस्तिक चिह्न, मसीलगायत ६७ प्रकारको सामग्री आवश्यक पर्ने आयोगले जनाएको छ ।
सरकारले निर्वाचनका लागि रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार निकासा गरिसकेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी वैशाख १६ गते मनोनयन सुरु भई वैशाख ३१ गते अपरान्ह ५ बजेसम्ममा मतदानको काम पूरा हुनेछ ।
निकै लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा कुन दलबाट कुन-कुन पदमा को उम्मेदवार बन्ने विषयले अहिले गाउँ टोलमा चर्चा पाएको छ । आगामी स्थानीय तहको निर्वाचनबाट परिवर्तनकारी शान्तिकामी नेपालीले घरदैलामै स्थानीय सरकार पाउने छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको भावनानुरुप आगामी निर्वाचनपछि समानुपातिक र समावेशिताको नमुनाका रुपमा स्थानीय तह रहने छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने