एनआरएनएले पर्यटन प्रवर्धनका लागि ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने

उपाध्यक्ष भवन भट्ट

काठमाडौँ, २६ चैत । गैरआवाशीय नेपाली सङ्घले मुलुकमा पर्यटन प्रवर्धनका लागि आइतबारदेखि ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, लुम्बिनी, पोखरा र चितवनबाट सुरु हुने सो अभियानमा नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदा तथा भौगोलिक जैविक विविधताकाबारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरिनेछ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष भवन भट्टले नेपालीको आतिथ्यता सत्कारको संस्कृति संसारकै उत्कृष्ट मानिएको भए पनि त्यसको उपयोग हुन नसकेको बताउनुभयो । सो अभियानअन्तर्गत नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरुलाई पनि भ्रमणको सिफारिस गर्न प्रेरित गरिने छ ।

सङ्घका सञ्जाल रहेका ७५ मुलुकमा बस्ने प्रत्येक नेपालीले नेपालको सांस्कृतिक क्षेत्र, सम्पदा तथा पर्यटन क्षेत्रकाबारेमा विदेशमा जानकारी गराएर तीनजना विदेशी नेपालमा पठाउन भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

सो अभियान निरन्तर सञ्चालन गर्नका लागि नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले सहयोग गर्ने भट्टले बताउनुभयो । पर्यटकको नेपालप्रतिको पहिलो दृष्टिकोण बन्ने विमानस्थल, होटल, ट्रेकिङ रुट, सम्पदा क्षेत्र तथा किनमेल केन्द्रमा समेत पर्यटकप्रति सकारात्मक व्यवहार र मुस्कानसहितको सेवा उपलब्ध गराउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री