बजेट ल्याएर प्रचण्डले सरकार छाड्ने

प्रचण्ड

तिलोत्तमा (रुपन्देही), २५ चैत । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताउनुभएको छ ।

पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने बताउनुभयो ।

आज बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ को गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले बजेट ल्याएर प्रचण्डले सरकारको नेतृत्व छोड्नु हुनेछ भन्नुभयोे ।

उहाँले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीका जाँदा ठूलो असर नपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै निर्वाचनको तयारी करिब अन्तिम अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–“अब निर्वाचन सर्ने कुनै कारण छैन । मतपत्र छापिएको छ, म्यादी प्रहरीको भर्ना भएको छ । अब कसैले चाहेर पनि निर्वाचन रोकिँदैन ।’’

मधेसवादी दलहरुका मागलाई समेटेर छिट्टै संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “पुरानो प्रस्ताव फिर्ता हुन्छ । नयाँ दर्ताको तयारी तीन दलका शीर्ष नेताहरुबीच भएको छ ।’’

उक्त प्रस्तावले मधेसवादी दलहरुको मागलाई सम्बोधान गर्ने र निर्वाचन सहजरुपमा हुने बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा उम्मेदारको छनोटको जिम्मा प्रदेशलाई प्रदान गरेको भन्दै माओवादीले तालमेल गरेर चुनाव लड्ने बताउनुभयो । स्थानीय तहमा तालमेल गर्दा काँग्रेस, एमाले अथवा अरु दलहरुसँग अवस्था हरेर तालमेल गर्ने प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री