निर्वाचन एकै चरणमा हुनुपर्ने काँग्रेसको अडान

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव सङ्कलन गर्न शुक्रबार काठमाडौँमा आयोजना गरेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु । तस्बिर ः भीष्मराज ओझा, रासस

काठमाडौँ, २५ चैत । मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा चलिरहेका बेला नेपाली काँग्रेसले भने एकै चरणमा निर्वाचन हुनुपर्ने जनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आज यहाँ आयोजित पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा राख्नुभएको हो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको बताउँदै निर्वाचन एकै चरणमा र तोकिएकै मितिमै हुनुपर्ने धारणा राख्नुभएको थियो ।

केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले संशोधनमार्फत संविधानको स्वीकार्यता बढाएर एकै चरणमा निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै सांसद रामहरि खतिवडाले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी निर्वाचनमा सबै सहभागी हुने वातावरण बनाउन व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजानुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।

बैठकमा सहभागी नेताले निर्वाचनको सम्पूर्ण तयारी भइरहेका बेला दुई चरणमा निर्वाचन हुनुपर्छ भन्ने कुरा आउनु सत्ता लम्ब्याउने मनशायका साथ आएको भन्दै आशङ्का व्यक्त गर्नुभएको थियो ।

उपप्रधानमन्त्रीको बरियताको विषय सार्वजनिक भई चर्चामा आउँदा जनतामाझ नकारात्मक सन्देश गएको भन्दै केन्द्रीय सदस्यले पार्टीको नेतृत्व तहबाटै उक्त विवाद हल गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

पार्टीका नेता एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले विगतको घोषणापत्र, पार्टीको पछिल्लो महाधिवेशनले पारित गरेको दस्तावेज र स्थानीय आवश्यकताका मुद्दाका आधारमा घोषणापत्र बन्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री केसीले समग्र राष्ट्रियता बलियो बनाउन मधेसका माग सम्बोधन गर्नुपर्ने र निर्वाचनमा सबैले सहभागिता जनाउने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेता फरमुल्ला मन्सुरले संविधान संशोधनको मुद्दा पारित गर्न संसद्मा दुईतिहाइ बहुमत पुग्दैन भनेर संशोधनको प्रस्ताव प्रक्रियामा अघि नबढाउनु गलत भएको भन्दै नेतृत्वप्रति गुनासो गर्नुभयो ।

घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले काँग्रेसले मुलुकका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको र सबै सङ्कटको समाधान पनि काँग्रेसले नै गरेकाले मुलुकको वर्तमान सङ्कटको समाधानमा पुनः पार्टीको भूमिका एकपटक सम्झनामा ल्याउनुपर्ने बताउनुभयो ।

अहिले पनि मधेसको समस्या समाधानमा काँग्रेसले अग्रसरता लिइरहेको उल्लेख गर्दै नेता आचार्यले काँग्रेसले स्थापनाकालदेखि नै समावेशी, सङ्घीयता र विकेन्द्रीकरण तथा संविधानसभाको नीति अवलम्बन गर्दै आएको बारेमा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताउनुभयो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा आशङ्का नगर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्दै एकढिक्का भएर निर्वाचनमा होमिन निर्देशन दिनुभयो ।

बैठकमा सरकारका कामकारबाहीका बारेमा टीकाटिप्पणी हुनुका साथै जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको आलोचनासमेत भएको थियो ।

साथै बैठकमा मधेसका माग सम्बोधन गर्न चार बुँदे संशोधन प्रस्ताव संसद् दर्ता भइसकेको अवस्थामा पाँचबुँदे प्रस्तावको हल्ला कसरी कहाँबाट आयो भनी केन्द्रीय सदस्य तथा सांसदले प्रश्न गर्नुभएको थियो ।

पार्टीले बैठकमा उठेका सबै सुझाव घोषणापत्र तयारी समितिमा पठाउने र तराई-मधेसका मागलाई सम्बोधन गर्न अधिकतम सहमतिका साथ संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

यसअघि पार्टीले घोषणापत्रका बारेमा भ्रातृ, शुभेच्छुक र पेसागत संस्थाका प्रतिनिधि तथा बुद्धिजीवीसँग छलफल गरी राय सुझाव सङ्कलन गरिसकेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले बताउनुभयो ।

पार्टीले सबैका राय सुझावसहित स्थानीय मुद्दा र आवश्यकता समेटिने तर संक्षिप्त घोषणापत्र आगामी वैशाख पहिलो साताभित्र तयार हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री