मधेस समस्या यथाशक्य टुंग्याउन सरकारलाई सुझाव

प्रमुख आयुक्त डा अयोधिप्रसाद यादव । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २४ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिनुभएको छ ।

निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाले भन्नुभयो – “आज बेलुकासम्म नेपाल सरकारबाट ठोस निर्णय आउन सकेन भने हामीलाई अप्ठेरो हुन्छ ।”

“धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचयपत्र छपाइ थालिहाल्नु समय भइसकेकाले त्यसअघि नै सरकारबाट ठोस निर्णय हुन आवश्यक छ, सरकारबाट त्यो हुन नसके आयोग दृढतापूर्वक सबै क्षेत्रको मतपत्र छपाइ गरेर निर्वाचनको पूर्ण तयारीमा जुट्ने छ” – प्रमुख आयुक्त यादवले भन्नुभयो ।

नेपाल सरकारबाट निर्वाचनमा खटिएर जाने कर्मचारीलाई काम गर्ने अनुकूल वातावरण र सुरक्षाको पूर्ण प्रत्याभूति हुन आवश्यक रहेको बताउँदै उहाँले आयोगले जटिलताको बीचमा पनि जिल्लामा मतदाता शिक्षा, मतदाताका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेर अघि बढिरहेको जानकारी दिनुभयो ।

वित्तीय अनुशासनमा जोड दिँदै कमभन्दा कम खर्चमा निर्वाचनको जिम्मेवारी पूरा गर्न सबै राष्ट्रसेवक कर्मचारीबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्दै मुख्य सचिव सोमलाल सुवेदीले कर्मचारीमा व्यावसायिक दक्षता र व्यवहारमा तटस्थता हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – “लोकतन्त्रको स्थायित्वका लागि पथप्रर्दशक र राष्ट्रिय महाअभियान रुपमा हेरिएको स्थानीय तहको निर्वाचनबाट जनताले घरदैलोमै सरकार पाउने छन् । संसारका असाध्यै थोरै मुलुकले पनि अभ्यासमा ल्याउन नसकेको सवल स्थानीय तहको गठन र कार्यान्वयन आगामी निर्वाचनबाट मात्रै हुने छ ।”

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले २० वर्षपछि हुन लागेको आसन्न निर्वाचनले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा विशिष्ट योगदान पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्वतन्त्र र निष्पक्ष निर्वाचनले मात्र लोकतन्त्रको सुदृढ हुने तथ्यलाई निर्वाचनमा खटिएका कर्मचारीले भुल्न नहुने धारणा व्यक्त गर्नुभयो ।

नेपालस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रमका निर्देशक रिनेउड मेयरले लोकतन्त्रको स्थायित्वका लागि हुन लागेको यो निर्वाचनमा मतदाताले राम्रो व्यवस्थापनमा निर्वाचन भएको महसुस गर्न सके अर्काे निर्वाचनका लागि बलियो आधार तयार हुने बताउनुभयो ।

आयोगका सहसचिव नवराज ढकालले आगामी निर्वाचनको सन्दर्भमा आयोगले राजनीतिक, सामाजिक र आर्थिक व्यवस्थापनलाई व्यव्यस्थित तुल्याउँदै तयारीलाई घनिभूतरुपले अघि बढाइरहेको जानकारी दिनुभयो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनमा खटिने कर्मचारी र आयोगको क्षमता अभिवृद्धि हुने दृष्टिकोणबाट प्रशिक्षण सञ्चालन गरिँदै आइएको बताउनुभयो ।

आगामी वैशाख ३१ गते एकै दिन, एकै चरण र एकै समयमा हुने निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाख २६ हजार कर्मचारी खटिने छन् ।

ती सबै कर्मचारीसम्म शिक्षा पुरयाउने उद्देश्यले आयोजना गरिएको सबैभन्दा माथिल्लो तहको प्रशिक्षक प्रशिक्षणमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृतसम्मलाई प्रशिक्षण दिइनेछ ।

सात सय ४४ स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजारभन्दा बढी व्यक्ति निर्वाचित हुनेछन् । निर्वाचनमा करिब २१ हजार स्वयम्सेवी मतदाता शिक्षाका लागि खटिने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री