काँग्रेसको निर्वाचन तयारी तीव्र

 

काठमाडौँ, २२ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको छ ।

गठन भएदेखि दिनहँु विभिन्न तहगत छलफलमा जुटेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले निर्वाचनको तयारी स्वरुप आज पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसद र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग निर्वाचनका बारेमा छलफल र परामर्श गरेको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको बैठकले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आआफ्ना सङ्गठनलाई केन्द्रदेखि स्थानीय तह (वडा तह) सम्म परिचालन गर्न निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले जिल्ला, क्षेत्र, गाउँ- नगर र वडा तहसम्म निर्वाचन परिचालन समिति गठन गर्दा भ्रातृ एवम् शुभेच्छुक संस्था, पेसागत तथा बुद्धिजीवीसँग समन्वय गरी निर्वाचन अभियानलाई तीव्रता दिन पार्टीका स्थानीय निकायलाई निर्देशन दिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै स्थानीय तह निर्वाचन २०७४ का लागि पार्टीका तर्फबाट घोषणापत्र तयार गर्न केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित समितिले विभिन्न तहमा सुझाव सङ्कलन गर्ने कार्य अघि बढाएको छ ।

समितिले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको उपस्थितिमा विभिन्न पेसागत बुद्धिजीवीसँग बुधबार पार्टीको केन्द्रीय कार्यालयमा छलफल गर्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै काँग्रेसले घोषणापत्रका बारेमा सुझाव लिन केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक यही चैत २५ गते व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर बस्ने जनाएको छ ।

काँग्रेसले ७४४ तहमै प्रचार समिति गठन गर्ने

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि ७४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्ने तयारी थालेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचारप्रसार समन्वय उपसमितिको आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले छिट्टै जिल्ला र स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा पार्टीका जिल्ला सभापतिको संयोजनमा जिल्लास्तरीय समिति र उक्त समितिले स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय भएको उपसमिति संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

समितिका केन्द्रीयस्तरदेखि स्थानीय तहसम्मका सबै समितिमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको अनिवार्य उपस्थिति रहनेछ ।

स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसार गर्ने सम्पूर्ण जिम्मेवारी पाएको ‘प्रचार–प्रसार समन्वय उपसमिति’ मा हाल संयोजक मन्त्री लेखक र सहसंयोजक पार्टीका केन्द्रीय सदस्य एवम् स्वास्थ्य मन्त्री गगनकुमार थापा हुनुहुन्छ । आजको बैठकले एक-दुई दिनमा उपसमितिलाई विस्तार गरी पूर्णता दिने जनाएको छ ।

बैठकमा लोकतन्त्रवादी वरिष्ठ पत्रकारहरु, नेपाल प्रेस युनियनका वर्तमान एवम् पूर्वपदाधिकारी, विभिन्न सञ्चारमाध्यम र सञ्चारसम्बन्धी संस्थाका प्रतिनिधिले सञ्चारमाध्यमलाई सहज र द्रुत गतिमा सूचना उपलब्ध गराउने बारेमा सुझाव दिनुभएको थियो ।

काँग्रेस कार्यालयमा मिडिया सेन्टर स्थापना गरिँदै ‘प्रचारप्रसार समन्वय उपसमिति’ले निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि, सूचना र जानकारी सञ्चारमाध्यमलाई सहज र दु्रत रुपमा उपलब्ध गराउन सुविधा सम्पन्न केन्द्रीय मिडिया सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

मिडिया सेन्टरमा दिनहुँ जिल्लास्तरदेखि केन्द्रसम्मका श्रव्यदृश्य र प्रेस विज्ञप्ति अत्याधुनिक प्रविधिबाट द्रुत गतिमा सञ्चारमाध्यमलाई उपलब्ध गराइने मन्त्री थापाले जानकारी दिनुभयो ।

पार्टीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । काँग्रेसले निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि पार्टीका शीर्ष नेताको सहभागितामा आगामी साताभर सातै प्रदेशमा आमसभा गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री