
काठमाडौँ, २२ चैत । आउँदो स्थानीय तह निर्वाचनामा प्रत्येक घर पुगेर मतदातालाई सुसूचित गर्नका लागि २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने उद्देश्यले आज देशैभर एकसाथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको निर्वाचन हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ ।
निर्वाचन आयोगले देशका ७५ जिल्लामा एकैसाथ यो तालिम सुरु गरेको हो । मतदाता शिक्षा स्वयंसेवकले तालिम पछि एक करोड ४० लाख ५४ हजार ४८२ मतदातालाई मतदाता शिक्षा सिकाउनुपर्ने जिम्मेवारी छ ।
गत संविधानसभाको तुलनामा यसपटक १९ लाख २१ ह्जार ८४९ मतदाता थपिएका छन् । एउटा मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ मतदाताका दरले एक महिनामा ६७० मतदातालाई भोट खसाल्ने तरिकाबारे घरघरमा पुगेर व्यावहारिक रुपमा शिक्षा दिनेछन् ।
मतपत्र छ आकारका छन् । यसपटक एउटा मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसहित सातजनालाई भोट खसाल्नुपर्नेछ ।
दलगत रुपमा भएका निर्वाचन चिह्न तेर्सो एकै लाइनमा रहेको हुन्छ । स्वतन्त्र उम्मेदवारले भने स्वतन्त्र समूहबाट आयोगले तोकेको चिह्न पाउँछन् ।
आयोगले जिल्लामा दर्ता भएको दलको आधारमा मतपत्रमा चिह्नहरु समावेश गरेको हो । काठमाडौँमा सबैभन्दा धेरै ४७ र मनाङमा सबैभन्दा थोरै छ दल स्थानीय तह निर्वाचनमा दर्ता भएका छन् ।
देशभर करिब २१ हजार मतदान केन्द्र छन् । राज्य पुनःसंरचनापछि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७४४ स्थानीय तह निर्धारण गरिएको छ ।
आयोगले सोमबार ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृत नियुक्त गरेको छ । चैत २६ गतेसम्म ७५ जिल्लाकै मतदाता शिक्षा कार्यकर्तालाई तालिम प्रदान गरेर कार्यक्षेत्रमा खटाउने तयारी छ ।
काठमाडौँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले मङ्गलबारबाट ७५० मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवकलाई रत्नराज्य उच्च माध्यमिक विद्यालयमा मतदाता शिक्षा तालिम दिएको छ ।
तालिम शुभारम्भ गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले उम्मेदवार धेरै र मतपत्र पनि ठूलो हुने भएकाले एउटा मतदाताले एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई मतदान गर्न सिकाउनुपर्छ भन्नुभयो । आयोगका सहसचिव नवराज ढकालले संविधान र कानुनले स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित हुने सुनिश्चित गरेको बताउनुभयो ।
यसपटक गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष, नगरपालिकाको प्रमुख-उपप्रमुखमध्ये दलहरुले एकजना महिला उम्मेदवार उठाउनुपर्नेछ । वडामा एक दलितसहित दुई महिला निर्वाचित हुनेछन् ।
पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् । सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिनुभयो । तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइनेछ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता