काठमाडौँ, २१ चैत । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले नेपाल पर्यटन बोर्डले चर्चित अन्तर्राष्ट्रियस्तरका सञ्चार माध्यमसँग साझेदारी अघि बढाएको छ ।
भूकम्पपछिको पर्यटनलाई विश्वभर सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्न बोर्डले बिबिसी, रोयटर र ट्रिपएडभाइजरसँग साझेदारी गरेको हो । ती संस्थासँग आज यहाँ आयोजित एक कार्यक्रमबीच छुट्टाछुट्टै दुई पक्षीय सम्झौता गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बिबिसीका दक्षिण एसिया बजार निर्देशक विकास भाट्नागर, रोयटरका बजार प्रवन्धक एस एन भादुरी र ट्रिप एडभाइजरका दक्षिण एसिया बजार निर्देशक भरतनाथ पालसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार प्रचारप्रसारका लागि बिबिसीसँग छ महिनाका लागि छ लाख ८० हजार, ट्रिप एडभाइजरसँग एक वर्षका लागि दुई लाख ५० हजार र रोयटरसँग ७५ हजार अमेरिकी डलर बोर्डले खर्चनेछ । तीनवटै संस्थाको निश्चित अवधिमा मूल्याङ्कन हेरेर थप कार्यक्रम अघि बढाइनेछ ।
तीनवटै मिडियाले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य, पर्वतारोहण, पदयात्रा, धार्मिकस्थल, स्थानीय रहनसहन, महत्वपूर्ण चाडपर्व आदिबारे अनुसन्धानमूलक सामग्री, भिडियो क्लिप, तस्बिर, गन्तव्य विवरणात्मक सम्प्रेषण, प्रसारण र प्रवद्र्धन गर्नेछन् ।
तत्कालै हिमाल आरोहणको मौसम भएकाले सगरमाथा, नजिकिएको बुद्ध जयन्तीलगायतबारे सन्देशमुलक विषयवस्तु राखिने बताइएको छ । ट्रिप एडभाइजरले मङगलबारदेखि, बिबिसीले १४ दिनपछि र रोयटरले मे महिनाबाटै नेपालको पर्यटन सन्दर्भका सामग्री राख्ने बोर्डले जनाएको छ ।
सो अवसरमा पर्यटन सचिव अधिकारीले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न सम्झौताले महत्वपूर्ण प्रभाव पर्ने बताउनुभयो । नेपालको पर्यटनको अथाह सम्भावना रहेपनि ‘हवाई सम्पर्क’, भौतिक पूर्वाधार तथा पर्यटनयोग्य वस्तुको विकास र गन्तव्य प्रवद्र्धन नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेको भन्दै ती क्षेत्रमा प्रभावकारी कार्यक्रम अघि बढाइने बताउनुभयो ।
पर्यटन प्रवद्र्धनसँगै आफ्ना सेवामा गुणस्तर कायम गरी नयाँ गन्तव्य प्रवद्र्धनमा सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । बोर्डका सिइओ जोशीले भूकम्पपछिको नेपालको पर्यटनबारे संसारभर सकारात्मक सन्देश प्रभाव होस् भन्ने उद्देश्यले तीन अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी अघि बढाइएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार बिबिसीबाट एसिया र युरोपका विभिन्न क्षेत्रमा नेपालको एक दिनमा करिब छ देखि १२ पटकसम्म नेपालको ३० सेकेन्डको भिडियो क्लिप प्रशारण हुनेछ भने बिबिसी ब्लगको साइटमा थुप्रै सामग्री राखिनेछ, अर्को रोयटरको नेटवर्कमा पनि पर्यटनको सकारात्मक र चाखलाग्दा सामग्री राखिने र ट्रिप एडभाइजरलाई नेपालको पर्यटन प्रवद्र्धनमा अधिक प्रयोग गर्ने समझदारी भएको छ ।
यो सम्झौता नेपालको इतिहासमै पहिलो पटक भएको र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण प्रभाव पार्ने उहाँले बताउनुभयो । यसअघि बिबिसी र सिएनएनमा बोर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि विज्ञापन गरेको थियो ।
रोयटरका बजार प्रबन्धक भादुरीले नेपालको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण आधार पर्यटन प्रवद्र्धनमा साझेदारी गर्न पाउँदा उत्साहित भएको बताउँदै यसले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ट्रिप एडभाइजरका बजार निर्देशक पालले आरोहण, पदयात्रा, धार्मिक र वन्यजन्तु अवलोकनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको भन्दै यसको प्रवद्र्धनमा सहभागीता जनाउन पाउँदा खुसी व्यक्त गर्नुभयो ।
बिबिसीका बजार निर्देशक भाट्नागरले विश्वबजारमा नेपालको पर्यटनको सम्भावना र आगामी प्रवद्र्धनका विषयवस्तुबारे प्रस्तुति गर्नुभएको थियो । सरकार र निजी क्षेत्रको साझेदारीमा विभिन्न अभियान चलाएर पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएकोमा पछिल्लो भूकम्प र नाकाबन्दीका कारण पर्यटकको आवागमन कम हुन पुगेको थियो ।
बोर्डको विवरण अनुसार सन् २०१६ मा सातलाख २९ हजार विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । सन् २०१५ मा पाँचलाख ५४ हजारले भ्रमण गरेका थिए । सन् २०१४ मा सात लाख ९० हजार र २०१३ मा सातलाख ९७ हजारले भ्रमण गरेका थिए । भूकम्प र नाकाबन्दीका कारण सन् २०१५मा पर्यटकको सङ्ख्या घटेको हो ।
नेपालले विगतमा ‘भिजिट नेपाल–१९९८, पर्यटन भ्रमण वर्ष–२०११ र पछिल्लो घुमफिर वर्ष–२०१७, जस्ता अभियान चलाएको छ । सरकारले ‘भिजन–२०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
युक्रेनलाई तत्काल युद्धविराम गर्न जी–७ को आह्वान
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित