राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जयानी प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदानपछि सामूहिक तस्बिरमा । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

नेपाल र भारतबीच एकअर्काे मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी उपस्थित हुनुहुन्थ्यो । नेपाली सेनाका पूर्वप्रधानसेनापति, रक्षामन्त्रालयका उच्चपदस्थ अधिकारी र नेपाली सेनाका रथीबृन्दको पनि समारोहमा सहभागिता थियो । यसअघि रक्षामन्त्री बालकृष्ण खाँणसँग सेनाध्यक्ष रावतले शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत मङ्गलबार चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आउनुभएको हो । उहाँले नेपालका केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुहुने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उहाँले निरीक्षण गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री