चीनको विकासले नेपाललाई पनि सहयोग – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले आज साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति हामी सराहना व्यक्त गर्दछौँ भन्नुभयो ।

बेइजिङस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले दुई बर्ष अगाडी नेपालमा आएको विनाशकारी भूकम्पपछि चीनले तत्कालै गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन नेपालका लागि असल मित्र र असल साझेदार भएको बताउनुभयो ।

“हाम्रो सम्बन्ध अटुट रहिआएको छ, हाम्रो सम्बन्ध पञ्चशीलको सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा कायम रहिआएको छ”– उहाँले भन्नुभयो । आकार र अर्थतन्त्रमा साना ठूला भएपनि चीनसँगको सम्बन्धलाई नेपालले ठूलो महत्व दिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले भन्नुभयो, “मैले एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिएर आएको छु र सो सम्मेलन नेपाल जस्तो देशका लागि फलदायी हुने विश्वास लिएको छु ।”

चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको बोआओमा भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनमा बसिरहेका नेपालीले पनि नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन सहयोग पु¥याउन सक्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि जिनपिङ तथा अन्य चिनियाँ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको र त्यसबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने पनि बताउनुभयो । उहाँले दुईदेशबीच विगतमा भएका सम्झौता कार्यान्वयनलाई अघि बढाउन नेपाल अग्रसर रहेको र नेपाल ‘एक क्षेत्र एक सडक’ अवधारणामा सहभागी हुन इच्छुक रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चिनियाँ जनताप्रति नेपाली जनताको ठूलो सद्भाव रहेको बताउनुभयो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्री तथा उहाँको प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस्ता उच्चस्तरीय नियमित भ्रमणले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

सो अवसरमा चीन सरकारका उच्च अधिकारी, नेपालका मित्रहरु, चीनस्थित नेपाली समुदाय र नेपालका लागि चीनका पूर्वराजदूतहरु व्यापारी वर्ग तथा बौद्धिक समुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री