चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान शनिबार विश्व सम्पदा सूचीमा सुचीकृत ऐतिहासिक हनुमानढोका परिसर अवलोकन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १२ चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचौक, लोहचोक, नौ तल्ले दरवार र त्यसमा जडित काष्ठकलाकाबारे निकैै चासोका साथ जानकारी लिनुभयो ।

अवलोकनका क्रममा उहाँले हनुमानढोका परिसरमा रहेका जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, काल भैरवको मूर्ति तथा कुमारी मन्दिरबारे पनि जानकारी लिनुभयो ।

सो अवसरमा रक्षामन्त्री चाङले बसन्तपुर दरवारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पुरा होला भनी जिज्ञासा राख्नुभयो ।

त्यस क्षेत्रको अवलोकन गर्ने क्रममा नेपाली वास्तुकलाबाट आफू निकै प्रभावित भएको बताउँदै उहाँले भूकम्पबाट भएको जनधन र यहाँका एतिहासिक तथा साँस्कृतिक धरोहरमा पुगेको क्षतिप्रति दुख व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसघीय शैक्षिक, वैज्ञानिक एवम सास्कृतिक संगठन र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बसन्तपुर दरवार तथा त्यस क्षेत्रका सम्पदाको पुन निर्माण गर्ने कार्यक्रम छ ।

रक्षामन्त्री चाङलाई चिनियाँ भाषाका पथप्रर्दशक तोयानाथ सुवेदीले भूकम्पबाट क्षति भएका त्यस क्षेत्रका मठ, मन्दिर र अन्य सम्पदाको बारेमा विस्तृतरुपमा जानकारी गराउनुभएको थियो ।

रक्षामन्त्री चाङले हनुमान ढोकाको मुख्य प्रवेशद्धार अगाडी परेवासँग निकै खुशीका साथ तस्विर समेत खिचाउनुभएको थियो ।

चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फिर्ता

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्नुभएको थियो ।

रक्षामन्त्री खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग पनि उहाँले द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो । नेपाल र चीनबीच परापूर्वकालदेखि नै मित्रवत् सम्बन्ध रहिआएको छ ।

चीनले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग पुरयाउँदै आएको छ भने असंलग्न परराष्ट्रनीति र पञ्चशीलको सिद्धान्तमा आधारित हाम्रो परराष्ट्र सम्बन्धले एकअर्काको शान्तिपूर्ण सहअस्तित्वलाई सम्मान गर्दै आएको छ ।

रक्षामन्त्री खाँणले चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको र हामी हाम्रो भूमिमा छिमेकी मित्रराष्ट्रको विरुद्धमा कुनै पनि गतिविधि गर्न दिने छैनौँ भनी विश्वास दिलाउनुभएको थियो ।

प्रधानसेनापति राजेन्द्र क्षत्री र जनरल चाङबीच भएको भेटवार्तामा दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १६ वर्षपछि भएको हो । चिनियाँ रक्षामन्त्रीले आजै वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको थियो । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुगेको रक्षामन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री