उपत्यकाका प्रमुख नदीबाट तीस मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा गत शनिबार थापाथली नजिक वाग्मती सफाइ गर्दै अभियन्ताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, ५ चैत । उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको २०१ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ८५० अभियानकर्मीको सहभागिता रहेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टङ्कराज आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो ।

सफाइ महाअभियानलाई आजै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजार थान मास्क, पाँच हजार थान पञ्जा, ५० जोर बूट र २० वटा डोको हस्तान्तरण गर्नुभयो । बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौँमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

यसैको सिलसिलामा बैंकको कार्यालय नजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ । टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई सङ्गठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बंैकका सञ्चालक समेत रहनुभएको वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताउनुभयो ।

आजको सफाइ अभियानमा पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले सहभागीलाई सपथ खुवाउनुभएको थियो ।

वाग्मती सफाइ महाअभियानको २०२ औँ हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ ।

रुद्रमती सफाइको १६० औँ हप्तामा बिजुली बजार पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

पूर्वसचिव किशोर थापा र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइको नेतृत्व गर्नुभएको थियो । सफाइमा ३५० व्यक्तिको सक्रिय सहभागिता थियो ।

विष्णुमती सफाइको १३२ औँ हप्तामा मनमैँजु भत्केको पुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिनुभयो । टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा आजको सफाइ अभियान सञ्चालन भएको थियो । सफाइमा ८०० अभियन्ताको सहभागिता थियो ।

तारकेश्वर नगरपालिकाको दियालो टोलमा आज विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १६२ औँ हप्तामा आज रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवम् रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री