मुस्ताङमा पर्यटकीय चहलपहल सुरु

बागलुङ, ४ चैत । मुस्ताङमा पर्यटकीय चहलपहल सुरु भएको छ ।

पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दो छ । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ ।

पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्य पर्यटक देखिन्छन् । फागुन लागेसँगै पर्यटक आगमन बढेको मुस्ताङका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । जोमसोमका होटल व्यवसायी अनिता शेरचनले बास बस्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएको बताउनुभयो ।

“पर्यटक नआउँदा सुनसान बनेका होटलमा चहलपहल सुरु भएको छ,” उहाँले भन्नुभयो । हिउँ पर्ने र बढी चिसो हुने हुँदा पुस माघमा पर्यटक आगमन अति न्यून हुने गरेको छ । पर्यटक आगमन सुरु भएपछि मुस्ताङका व्यवसायी उत्साहित बनेका छन् । पछिल्लो समय त्यहाँ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । अघिल्ला वर्षका तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढेको लेतेस्थित ‘एन्जल गेष्ट हाउस’का सञ्चालक विमल शेरचनले बताउनुभयो ।

मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा वृद्धि भएको छ । मुक्तिनाथस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रका अनुसार म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ ।

मुक्तिनाथ जाने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय रहेको सूचना केन्द्रका कार्यालय सहयोगी धनप्रसाद गुरुङले बताउनुभयो । मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको लेखाजोखा राख्ने गरिएको छैन । यहाँ जनवरीमा कुल ६२७ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । फ्रेब्रुअरीमा एक हजार २३२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

भूकम्प, नाकाबन्दीलगायत कारण गत वर्ष खस्किएको पर्यटन व्यवसाय पुनः फस्टाउने आशा जागेको पर्यटन व्यवसायी बताउँछन् । यातायातको सहजताले पछिल्लो समय मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । ‘एक्याप’ मुस्ताङका अनुसार गत वर्ष कुल ३९ हजार १७ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री