मोर्चाले गरयो संसद बैठक बहिष्कार

व्यवस्थापिका–संसदको मङ्गलबारको बैठकमा नाराबाजी गर्दै मधेसवादी दलका सांसदहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ ।

सभामुख ओनसरी घर्तीले संसद्को आजको बैठक प्रारम्भ भएको घोषणा गर्नुभए पछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय प्रदान गर्नुभयो ।

सांसद कर्णले मन्त्रिमण्डलमा नयाँ-नयाँ मन्त्रीको प्रवेश भए पनि सरकार देश र जनताको हितप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– “सप्तरीमा मधेसी जनतामाथि भएको गोली प्रहारको घटनाले सरकार संवेदनशील नभएको देखाएको छ । मोर्चाले देशमा उत्पन्न समस्या समाधान गर्न प्रस्ताव गरेको संविधान संशोधनको मागलाई सरकार र प्रमुख दलबाट बेवास्ता गरिएको छ ।”

नेकपा एमालेबाट मधेसी समुदायको अपमानित गर्ने काम भएकामा उहाँको आपत्ति थियो ।

भैरहवामा पक्राउ परेका मोर्चाका कार्यकर्तालाई कुटेर यातना दिने काम भएको पनि उहाँले बताउनुभयो ।

स्थानीय तहको पुनःसंरचना आयोगले मधेसीको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउँदै सांसद कर्णले भन्नुभयो – “संविधान संशोधनको मागलाई सम्बोधन नगरिएसम्म आयोगको प्रतिवेदन र निर्वाचनलाई मधेस र मधेसी जनताले स्वीकार गर्ने छैनन् ।”

उहाँले भन्नुभयो– “देश यस्तो जटिल अवस्थामा रहेको बेला सभामुखको महत्वपूर्ण भूमिका रहन्छ । अहिलेको सङ्क्रमणको हल निकाल्न सरकार र राजनीतिक दलबीच थप छलफल आरम्भ गराउन माग गर्दछौं ”।

मोर्चाको तर्फबाट आजको बैठक बहिष्कार गर्ने घोषणासँगसँगै उहाँ सदनबाट बाहिरिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री