स्थानीय तह पुनःसंरचनाअनुसार काम सुरु

भक्तपुर, १ चैत । मन्त्रिपरिषद्को फागुन २२ को निर्णय अनुसार भक्तपुरमा स्थानीय तह पुनःसंरचना भई काम सुरु भएको छ ।

जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरिनाका साथै गाभिएका नगरपालिकामा नयाँ संरचना अनुरुप काम थालिएको छ ।

भक्तपुर जिल्ला समन्वय समिति र जिल्लाका चारै नयाँ नगरपालिकाले स्थानीय तह पुनःसंरचना अनुरुप कार्यालय स्थापना गरी काम सुरु गरेका हुन् । भक्तपुर जिल्ला समन्वय समितिले कार्यालयको छाप, बोर्ड, लेटरप्याड परिवर्तन गरी काम सुरु गरेको जिल्ला समन्वय समिति भक्तपुरका सचिव ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षभित्र जिल्ला परिषद्ले पारित गरेका विषयलाई कार्यान्वयनमा लाने बताउनुभयो ।

स्थानीय तह पुनःसंरचनापछि भक्तपुरमा चारवटा नगरपालिका कायम भएको छ । यसअघि ६ वटा नगरपालिका रहेको यस जिल्लामा भक्तपुर नगरपालिका, मध्यपुरठिमी नगरपालिका पुरानै संरचनामा रहेका छन् ।

यी दुई नगरपालिकाको वडा कार्यालय भने परिवर्तन भएको छ । चार नयाँ नगरपालिकामध्येको अनन्तलिंगेश्वरलाई भने सूर्यविनायक नगरपालिकामा गाभेर सूर्यविनायक नगरपालिका र नगरकोट नगरपालिकालाई चाँगुनारायणमा गाभेर चाँगुनारायण नगरपालिका बनाइएको छ ।

चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ भुसालले गाभिएका नगरपालिकाका नयाँ निर्धारित वडा कार्यालयबाट काम सुरु भएको र त्यही अनुसार कर्मचारीलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाइएको बताउनुभयो ।

मध्यपुरठिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले स्थानीय तहको पुनःसंरचनापछि नयाँ संरचना अनुसारले काम सुरु भएको र कुनै पनि वडा तथा कार्यालयको काम नरोकिएको बताउनुभयो ।

भक्तपुरमा चारवटा नगरपालिकामा ३८ वडा कार्यालय निर्धारण गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री