राष्ट्रपतिले दिइन् होलीको शुभकामना

राष्ट्रपति भण्डारी । तस्विरः रासस

काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।

फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिनुहुँदै विभिन्न रङहरुमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुरयाउँदै आएको बताउनुभएको छ ।

मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्वसमेत रहेको उहाँको भनाइ छ ।

राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनको होली शुभकामना

काठमाडौँ, २९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले रङहरुका पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पुरयाएको बताउनुभएको छ ।

होली पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले सप्तरङ्गी जस्तै रङ्गिन नेपाली समाजलाई एकसूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

पहाड तथा तराई–मधेसमा भव्यताका साथ मनाइने यस पर्वले शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीहरुलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने सन्देश पनि दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालीमा रहेको अविश्वास हटाउँदै २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गर्न सबैलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री