सप्तरी आज पनि तनावग्रस्त रहयो

जिल्ला प्रशासन कार्यालय अगाडि रोकिराखिएको राष्ट्रिय मानव अधिकार आयोगको बा १६ च ७४७३ नंं.को गाडी मधेसी मोर्चाका कार्यकर्ताद्वारा तोडफोड । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस

राजविराज (सप्तरी), २४ फागुन । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत प्रदेश नम्बर २ सप्तरीमा प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको विरोधमा आज सप्तरीको राजविराजलगायत अन्य सहरी तथा ग्रामीण क्षेत्र तनावग्रस्त रहयो ।

मधेसी मोर्चाका कार्यकर्ताको आनदोलनका कारण आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन एवम् विरोधका कार्यक्रमले गर्दा जनजीवन असामान्य रह्यो । बन्दका कारण शिक्षण संस्था, यातायात, कलकारखाना, उद्योग तथा बजार पूर्णरुपमा बन्द रह्यो ।

मधेसी मोर्चाका कार्यकर्ताकताले सोमबारको घटनाको छानबिनको माग र विरोध गर्दै सरकारी कार्यालयहरुमा ढुङ्गामुढा र आगजनी गरी क्षति पुरयाएका छन् ।

मोर्चाको कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नुको साथै दुई प्रहरी चेकपोष्टसहित एक सरकारी कार्यालयमा आगजनी र दुई सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आक्रोशित मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह–१ स्थित सप्तकोसी ब्यारेजको पश्चिमी गेटमा रहेको सशस्त्र प्रहरीको चेकपोस्ट र कदमाहामा रहेको ट्राफिक प्रहरी चेकपोष्ट तथा स्थानीय शान्ति समितिको कार्यालय राजविराजमा आगजनी गरेका छन् ।

यस्तै प्रहरी र मोर्चा कार्यकर्ताबीच राजविराजको ठाउँठाउँमा झडपसमेत भएको बुझिएको छ । प्रर्दशनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले तीन राउन्ड आश्रुग्याससमेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोर्चाको कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड र राष्ट्रिय मानव अधिकार आयोगको बा ७ च ७४७३ नम्बरको गाडीमा समेत ढुङ्गामुढा गरेर तोडफोड गरेको बताइएको छ ।

घटनामा प्रहरीको गोली लागेर सप्तरी डिवनका ५५ वर्षीय दिगेम्बर यादव, दिलीप यादव, सुरेन्द्र मण्डल, प्रमोद मण्डल, जितेन्द्र साह, इन्द्र नारायण साह र वीरेन्द्र महतो गम्भीर घाइते भएका थिए । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठिानमा उपचार भइरहेको छ ।

उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ, २४ फागुन । दुई नं प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदहरुले तीन जनाको ज्यान जाने गरी सोमबार सप्तरीमा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई आज छुट्टाछुट्टै भेट गरी उनीहरुले घटनाका दोषीलाई कारबाही गर्न र गोली चलाउनेलाई निलम्बन गर्नसमेत माग गरेका छन् ।

घटनामा संलग्न दोषीमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको काँग्रेसका संसाद रञ्जित कर्णले जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै स्थिति सहज बनाउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री निधिले घाइतेको उपचारको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

सप्तरी घटनाको न्यायिक छनबिन गर्न नयाँ शक्तिको माग

काठमाडौँ, २४ फागुन । नयाँ शक्ति पार्टी नेपालले सप्तरीमा भएको घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

पार्टी संयोजक डा बाबुराम भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबाट आफू र आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गर्दै उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

मुलुकलाई देशभक्ति सहितको राष्ट्रिय एकता आवश्यक भएको औँल्याउँदै नयाँ शक्ति पार्टी राजनीतिक सहमति, राजनीतिक विश्वास र सहकार्यको पक्षमा रहेको संयोजक डा भट्टराईले विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उहाँले ‘हामी समावेशी विकास र समृद्धिको पक्षमा छौँ, हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौँ, यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहीँकतैबाट प्रोत्साहित नगरौँ’ भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री