मोर्चा निर्वाचनमा सहभागी हुने प्रधानमन्त्रीको विश्वास

विराटनगर, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि हुने जानकारी उहाँले दिनुभयो । प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको तर स्थानीय तहको निर्वाचनका लागि तत्काल नै आवश्यक नरहेको बताउनुभयो । पत्रकारको जिज्ञासमा उहाँले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने छ भन्नुभयो ।

मधेसको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रको भविष्य र राजनीतिक स्थिरताका लागि मधेस–पहाड र हिमाललाई मिलाएर मधेसी र थारुको मागलाई सम्बोधन गर्न सरकार दृढ छ । ”

संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको र संसद्मा मतदान गराएर असफल गराउनुभन्दा दलहरुबीच समझदारी गराएर प्रस्ताव पारित गराउने आफ्नो सोचाइ रहेको जानकारी उहाँले दिनुभयो ।

उहाँले नेकपा (एमाले)को मेची–महाकाली अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गर्दै द्वन्द्वको अवस्था सिर्जना हुन नदिनका लागि मोर्चालाई वातावरण सहजीकरणतर्फ अग्रसर हुन सुझाव दिनुभयो । “कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन, एक अर्काको सम्मान गर्नुपर्ने लोकतन्त्रको नीति हो, कुनै अप्रिय घटना हुन नदिन सरकार गम्भीर छ ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री