भूकम्पपीडितलाई रकम उपलब्ध गराउनेबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भूकम्प पीडितहरुलाई दिने राहतका सम्बन्धमा बसेको बैठकमा सहभागी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

 

काठमाडौँ, १५ फागुन । भूकम्पपछि जोखिममा रहेका घरलाई अन्य स्थानमा स्थानान्तरणका लागि जग्गा खरिद गर्न रकम उपलब्ध गराउनेबारे सम्बन्धित निकायबीच छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा सहरी विकासमन्त्री, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकका गभर्नरलगायत सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसहितको बैठकले जग्गाका लागि रकम उलब्ध गराउन एक हप्ताभित्र कार्यविधि बनाएर अगाडि बढ्ने सहमतिसमेत गरेको छ ।

“अहिलेसम्मको ९० प्रतिशत अध्ययनले एक हजारभन्दा बढी घर सार्नुपर्ने जोखिममा छन्, ती घरलाई स्थानान्तरण गर्नुपर्नेछ, त्यसबारे कार्यविधि बनाएर अगाडि बढ्ने सकारात्मक कुरा भएको छ”– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले भन्नुभयो ।

कार्यकारी अधिकृत प्रा डा पोखरेलका अनुसार सुकुम्बासी वा वन क्षेत्रको सरकारी जग्गामा बस्दै आएका तर लालपुर्जा नभएका सुकुम्बासी भूकम्पपीडितको वर्गीकरण गरेर केही वैकल्पिक उपाय खोज्नका लागि भूमिसुधार मन्त्रालयसँग समन्वय गरिने भएको छ ।

भूकम्पपीडितलाई रु तीन लाख सहुलियत ऋण उपलब्ध गराउन एक हप्ताभित्रमा कार्यविधि बनाउने उहाँले जानकारी दिनुभयो । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरिनेछ ।

उहाँले भन्नुभयो, “रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा भूकम्पपीडितलाई दोस्रो किस्ता लिनेबारे विवरण लिने काम भइरहेको छ, पहिलो किस्ता पाउनुभएका र दोस्रो किस्ताका लागि विवाद नभएकाले किस्ताको दाबी गर्न सक्ने छन् ।” पहिलो किस्ताको रकम करिब सबैले पाइसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री