संशोधन प्रस्तावमा दलहरुको लडाईं, ओली भन्छन्- पारित हुन दिन्नौँ

फाइल तस्विर

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा छलफलमा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने दोहोरयाउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान संशोधन राष्ट्र हितमा नरहेको दाबी गर्नुभयो ।

“राष्ट्र«वादलाई हिमाली, पहाडिया र तराईको भनी विभाजन गर्न खोजिएको छ, यसरी राष्ट्रवादको खिल्ली उडाउन खोजिएको छ, एउटा पक्षको वकालत गर्नुलाई सन्तुलित राष्ट्रवाद भनिएको छ, हामी स्वाभिमानलाई बचाउँछौँ, भौगोलिक अखण्डतालाई सुरक्षित बनाउँछौँ”– नेता ओलीले भन्नुभयो ।

कुनै पनि विषयमा तथ्य मेल खाँदैन भने त्यसलाई अन्धविश्वासका आधारमा पछि लाग्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको उहाँले बताउनुभयो । नेपाली काँग्रेस र नेपाल विद्यार्थी सङ्घले चुनाव हार्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागेको उहाँको आरोप थियो ।

“विद्यार्थी चुनावदेखि नै डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् ?”–नेता ओलीले प्रश्न गर्नुभयो । पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको अध्यक्ष ओलीले बताउनुभयो ।

कार्यक्रममा पार्टी सचिव प्रदीप ज्ञवालीले युवा वर्ग १० वर्षे माओवादी जनयुद्धको सिकार बनेको बताउनुभयो । “बुर्जुवा शिक्षा पढ्नुपर्दैन भनेर गरिब जनताका छोराछोरीलाई भड्काउने पार्टीले आफ्ना सन्तानलाई विदेशमा पढाएर आम युवा वर्गको भविष्य बिगारे, शिविरबाट बाहिरिने युवाको पैसा खोसेर पनि युवालाई शोषण गरे”– उहाँले भन्नुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र एमाले काठमाडौँ अध्यक्ष कृष्ण राईले सबै तहको निर्वाचन आगामी माघ ७ गतेअघि नै सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका नेकपा (माओवादी केन्द्र)का बुद्धिजीवी कपन पोखरेल र मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सन्तोष खड्कालगायत समूहलाई पार्टी सदस्यतासहित अध्यक्ष ओलीले स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री