महाशिवरात्रिमा साधुसन्तलाई निःशुल्क भोजन

महाशिवरात्री पर्वका लागी काठमाडौँको पशुपति क्षेत्रमा आएका साधु चिलिम तान्दै । तस्बिर ःरोशन सापकोटा, रासस

काठमाडौँ, १२ फागुन । महाशिवरात्रिमा आएका साधुसन्तका लागि निःशुल्क भोजनलगायत सम्पूर्ण तयारी पूरा गरेको गुठी संस्थानले जनाएको छ ।

संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । संस्थानले महाशिवरात्रिको व्यवस्थापनका लागि यस वर्ष रु २४ लाख विनियोजन गरेको छ ।

बुधबार एकादशीको दिन संस्थानका तर्फबाट राडी, च्यादर, बख्खु, कमन्डलु, शङ्ख, घन्ट, पीताम्बरी, लोटा, सिदालगायत सामान साधुसन्तलाई वितरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा सङ्कल्प गर्नुभएको गुठी संस्थान पशुपति कार्यालयकी प्रमुख खिमा ओलीले राससलाई जानकारी दिनुभयो ।

“राष्ट्रपतिले एकादशीका दिन शुभसाइतमा सङ्कल्प गर्नुभएको सामग्री विशिष्ट साधुसन्तलाई फागुन १५ गते बिहान बिदाइका बेला दक्षिणासहित प्रदान गरिनेछ” – उहाँले भन्नुभयो ।

महाशिवरात्रिका दिन शुक्रबार बिहान संस्थानको तर्फबाट पशुपतिनाथमा पञ्चामृत स्नानसहित विशेष पूजा गरिनेछ । महाशिवरात्रि अवधिभर साधुसन्त, महात्मा, सन्यासीलाई धुनी बाल्न ३८ हजार किलो दाउरा व्यवस्था गरिएको छ । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई महाशिवरात्रिको अवसरमा संस्थानले निःशुल्क भोजनको व्यवस्था गरेको छ ।

पशुपति परिसरमा नागा साधुलाई बुधबार बेलुकीदेखि फागुन १५ गते आइतबार बिहानसम्म, आर्यघाटपारि राम मन्दिरमा वैष्णव साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म, गोरखनाथ मठ मृगस्थलीमा नाथ सम्प्रदायका साधुलाई बिहीबारदेखि फागुन १५ गते बिहानसम्म, भष्मेश्वर अखडामा उदासी सम्प्रदायका साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म र राजराजेश्वरी निर्मल अखडामा पनि उदासी सम्प्रदायका साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

कालमोचनघाटको बैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा पनि आजदेखि १५ गते आइतबार बिहानसम्म निःशुल्क भोजनको व्यवस्था भएको छ ।

महाशिवरात्रिका अवसरमा आएका साधुसन्त र महात्मालाई फागुन १५ गते आइतबार बिहान भोजनपछि दक्षिणा दिई बिदाइ गरिनेछ । पशुपति मन्दिर परिसरभित्र नागाहरुको बिदाइ गर्दा दक्षिणासहित दुई सय ग्रामको पेडा वितरण गरिने र अन्य साधुलाई दक्षिणा दिएर बिदाइ गरिने परम्परा छ ।

पाशुपत क्षेत्रमा जोगी बाबाको चहलपहल

काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढेको छ ।  प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ ।

शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ ।

कोषले यस वर्ष करिब चार हजार जोगी बाबा आउने अनुमान गरेको छ । नाङ्गा बाबाको पनि आगमन सुरु भएको छ । उनीहरुलाई पशुपतिनाथको मन्दिर परिसरभित्र राख्ने व्यवस्था मिलाइएको छ ।

विभिन्न सङ्घ संस्थाले पशुपतिनाथ आसपासमा आजैदेखि स्वयम् सेवा सञ्चालन गरेका छन् । आउने भक्तजनको सुविधाका लागि ठाउँठाउँमा भोजन, स्वास्थ्य शिविर, भजन किर्तनलगायतका व्यवस्था मिलाइएका छन् ।

विभिन्न अखडामा उनीहरुलाई खान, बस्नका लागि प्रबन्ध गरिएको छ । उनीहरुलाई जथाभावी आवतजावत नगर्न कोषले आग्रह गरेको छ ।  कोषका निर्देशक भरत मरासिनीले यहाँ आउने दर्शनार्थी तथा भक्तजनको सुविधाका लागि आवश्यक स्वयम्सेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री