करौँडो मूल्यको चरेससहित पाँच पक्राउ

अपराह्न ५१ किलो ४०० ग्राम लागुपदार्थ चरेससहित बिहीबार पक्राउमा परेका पाँच जनालाई शुक्रबार अपराह्न प्रहरीले सार्वजनिक गर्दै प्रहरी । सो चरेसको अन्तर्राष्ट्रिय बजारमा करौंडो मूल्य पर्दछ । तस्बिर ः प्रभाषचन्द्र झा, रासस, विराटनगर

विराटनगर, ६ फागुन । अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई आज अपराह्न प्रहरीले सार्वजनिक गरेको छ ।

विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय वर्ष १८ को राम गुरुङ, वर्ष १७ को अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने वर्ष १८ को मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

उनीहरुले चार वटा चरेसको प्याकेट बनाएर चारवटा सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेका थिए । काठमाडौँबाट चरेससहित बिहीबार यहाँ आएका उनीहरु एक होटलमा आराम गर्न बसेका थिए ।

जोगबनी भएर भारतको कोलकत्ता बिहीबार नै जाने सुरसारमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनु भयो ।

उनीहरुको साथबाट रेलको टिकट, पाँच थान मोबाइल, भारतीय मुद्रा १४ हजार ४००, नेपाली मुद्रा रु एक हजार र पाँच थान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौँबाट विराटनगर आएका पाँच थान टिकट बरामद गरिएको छ ।

सो लागुपदार्थ चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो रु ३० देखि ४० हजार, भारतीय बजारमा प्रतिकिलो रु ६० देखि ७० हजार र जापानमा प्रतिकिलो रु तीन लाखभन्दा बढी पर्ने गरेको प्रहरी उपरीक्षक भण्डारीले जानकारी गराउनुभयो ।

उनीहरुमाथि आजै लागुपदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।

यसअघि, गत पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकत्ता बस्ने वर्ष २५ को शेख रिमादलाई तीन किलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री