काठमाडौँ, ६ फागुन । एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए ।
तर राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत गएपछि नेपालको राजनीतिले अचानक अर्कै तर जटिल मोड लिन पुगेको स्मरण गर्नुहुन्छ विसं २००७ को क्रान्तिमा सक्रिय पुराना राजनीतिज्ञ विश्वबन्धु थापा ।
पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाहसमेत दिइएको थियो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो ।
“राजा दिल्ली गएपछि २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुङ्गियो, यही बीजले क्रान्तिमा नेतृत्व गरेका दाजुभाइ मातृकाप्रसाद कोइराला र बिपी कोइरालामा झगडा भयो, अन्ततः यसले नेपालको प्रजातन्त्रलाई नराम्रो प्रभाव पारयो” – प्रजातन्त्र स्थापनापछिको घटनालाई गहिरोसँग नियाल्दै आउनुभएका थापाले भन्नुभयो ।
वनारसमा अध्ययन गरिरहेका बेला भारतमा अङ्ग्रेज शासन हटाएर प्रजातन्त्र पुनःस्थापना भएपछिको खुला वातावरण भोगेर विराटनगर फर्किएपछि थापालाई नेपालमा प्रजातन्त्र नभएको अनुभूति भयो । यही अनुभूतिले उहाँलाई राजनीतितर्फ डोरयायो । गोरखा पुख्र्यौली थलो भएका थापालाई विराटनगरबाट आवतजावत गर्ने खुला वातावरण नभएकाले प्रजातन्त्र स्थापना हुनुपर्नेमा दृढ बनाएको थियो ।
वनारसमा बिपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि विद्यार्थी सङ्गठित हुनुपर्छ भनी प्रेरणा दिनुभयो । बिपीको प्रेरणामा थापा, कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरी, भरतमणि शर्मालगायत विद्यार्थीहरु विद्यार्थी सङ्घमा सक्रिय हुनुभयो । थापा विसं २००३ मा खुलेको राष्ट्रिय काँग्रेसको संस्थापक सदस्य भई प्रजातन्त्र स्थापनामा लाग्नुभयो ।
राष्ट्रिय काँग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो । त्यही बेलामा भारतमा नेपालको राणा शासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरुकै सक्रियतामा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भएको थियो । राष्ट्रिय काँग्रेससँग जनशक्ति थियो । प्रजातन्त्र काँग्रेससँग धन शक्ति । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि विसं २००६ मा दुवै दल मिलेर नेपाली काँग्रेसको गठन गरियो ।
“प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र काँग्रेसको विचारसँग राष्ट्रिय काँग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो, एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो” – २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना हुनुअघि सुरु भएको क्रान्तिको स्मरण गर्दै थापाले भन्नुभयो ।
प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको घोषणा भएपछि बिपीको निर्देशनमा थापा विराटनगर आउनुभयो । पढाइ छोडेर गिरिजाप्रसाद कोइराला मजदुर आन्दोलनमा लाग्नुभएको थियो । विराटनगरमा स्वयम्सेवक अखडा खोलेर क्रान्तिमा लागेका साथीलाई गुमाएको घटना उहाँको स्मरणमा अझै ताजा छ ।
वनारसमा अध्ययन गर्दा विद्यार्थी सङ्गठनमा सक्रिय भएदेखि नै थापालगायत युवा विद्यार्थीले सैन्य तालिम लिनुभयो । यो तालिम २००७ सालको क्रान्तिमा उपयोगी बन्यो । तालिमलाई उपयोग गर्दै विराटनगरका माल अड्डालगायत सरकारी कार्यालय क्रान्तिकारीले नियन्त्रणमा लिएको सुनाउनुहुन्छ थापा ।
प्रजातन्त्र स्थापनामा सक्रिय भई विसं २०१५ को पहिलो संसदीय निर्वाचनमा सांसद निर्वाचित हुनुभएका थापा २०१७ पुस १ गतेको शाही ‘कू’ पछि पञ्चायत व्यवस्थामा लाग्नुभयो । विसं २००७ पछिको प्रजातन्त्रकाल र २०१७ पुस १ गते राजा महेन्द्रको कदमपछिको पञ्चायत दुवै व्यवस्थामा सक्रिय राजनीति गर्नुभएका थापा प्रजातन्त्रलाई भ्रष्टाचारले र पञ्चायतलाई शक्तिले बिगारेको अनुभव सुनाउनुहुन्छ ।
“प्रजातन्त्र स्थापनाका लागि नेतृत्व गर्ने मातृकाप्रसाद कोइराला र बिपी कोइरालाको काठमाडौँमा घर थिएन, २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापना भएपछिको संसदीयकालमा मन्त्री बनेकाले समेत काठमाडौँमा बङ्गला, गाडी र धन सम्पत्ति जोडेका छन्, यसमा काँग्रेसका नेतामात्र होइन नेकपा (एमाले) र माओवादीका नेता पनि फरक देखिएनन्” – २०४६ सालमा प्रजातन्त्र र विसं २०६२-६३ को परिवर्तनपछिको विश्लेषण गर्दै पुराना राजनीतिज्ञ थापाले भन्नुभयो ।
विसं २००७ अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले पछि परेको उहाँको बुझाइ छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी