राप्रपाको एकता महाधिवेशन सुरु

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा सहभागी केन्द्रीय अध्यक्ष कमल थापालगायत नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडाँै, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रदर्शनी मार्गस्थित सडकमा सुरु भएको छ ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ ।

चारवर्षे कार्यकालमा गरिएको महाधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष कमल थापाले दीप प्रज्ज्वलन गरी गर्नुभएको हो । यही फागुन ९ गतेसम्म महाधिवेशन भृकुटीमण्डपमा जारी रहने छ ।

सो सभामा सहभागीलाई पार्टीका उपाध्यक्ष टङ्क ढकालले स्वागत गर्दै जनताले चाहना गरेको शान्त र समृद्ध मुलुक निर्माणको उद्देश्यका लागि दुई पार्टी एक भई महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले मुलुक अहिले सङ्कटको अवस्थामा रहेकाले बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याउनुभयो ।

यसअघि राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता पशुपतिशम्शेर राणालगायतले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नृत्य गर्दै कलाकार । तस्बिर ः प्रदीपराज वन्त, रासस

पञ्चायती पृष्ठभूमि भएका नेपाली राजनीतिमा खारिएका नेताहरुको बाहुल्यता रहेको राप्रपा व्यवस्थापिका–संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ । महाविधेशनले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उक्त पार्टीको शीर्ष नेतृत्वमा पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापा रहनुभएको छ । महाधिवेशनमा भाग लिन स्वेदश तथा विदेशबाट गरी तीन हजार ३१५ प्रतिनिधिको सहभागिता छ ।

महाधिवेशनलाई सफल तुल्याउन ३०० पर्यवेक्षक परिचालन गरिएको छ । महाधिवेशनलाई भव्य र सव्य बनाउन महाधिवेशनस्थल वरपर पार्टीका झन्डा र ब्यानरबाट झकिझकाउ तुल्याइएको छ भने सुरक्षा व्यवस्थालाई कडा तुल्याइएको छ ।

नेपाली राजनीतिमा चतुर खेलाडीको उपनाम पाएका नेताहरु सम्मिलित राप्रपाले प्रजातन्त्र पुनःस्थापनापछि पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो ।

महाधिवेशन उद्घाटनसत्रमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुले समेत सम्बोधन गर्नुहुनेछ ।

राप्रपाको यो महाधिवेशनलाई अरु राजनीतिक पार्टीले विशेष महत्व र चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री