सगुनले दुई अर्बको सेयर सर्वसाधारणलाई दिने

काठमाडौँ, २७ माघ । नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ ।

आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री गुरु गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा २९९ डलरमा १३ कित्ता सेयर किनेर सगुनको मालिक बन्न सकिनेछ, त्यसभन्दा माथि भने व्यक्तिको इच्छाअनुसार सेयर खरिद गर्न सकिनेछ ।

बिक्रीका लागि छुट्याइएको सेयर सगुनको वेबसाइटमार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । नेपाल बाहिर रहेका नेपालीले सो सेयर खरिद गर्न पाउनेछन् तर, कानुन अभावका कारण नेपालमा रहेका नेपालीले भने उक्त सेयर खरिद गर्न नपाउने कम्पनीले जनाएको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम नेपाली प्रविधि र लगानीले समाजका विभिन्न पक्षमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

“सगुनका समर्थक तथा शुभेच्छुकका लागि हाम्रो सपनामा विश्वास गर्नुभयो । धितोपत्र कारोबार आयोगको स्वीकृतिपछि अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ” – उहाँले भन्नुभयो ।

अमेरिकन जब्स एक्ट २०१२ अनुसार कुनै पनि ‘मिनी आइपिओ’ ले पाँच करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन् । तर सगुनले यस वर्ष रु दुई अर्ब बराबरको सेयर खोलेको छ, जुन कुल सेयरको जम्मा २१ प्रतिशत हो । सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता किन्नुपर्ने हुन्छ ।

अहिलेसम्म चार हजार बढी व्यक्तिबाट ३५ लाख डलर बराबरको सेयर खरिद गर्न इच्छा जाहेर गरेका सगुन नेपाल च्याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिनुभयो । सगुनका अनुसार सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता सेयर ० दशमलव ५ डलर थियो भने सन् २०१५ मा ३.७५ र अहिले यसको भ्यालु प्रतिसेयर २३ डलर पुगेको छ । यसैअनुसार सगुनले रु दुई अर्बको सेयर जारी गरेको हो । हाल नेपाल, भारत र अमेरिका कार्यालय रहेको सगुनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि सेयरकर्ताको लगानी बढाउन र सेवालाई थप प्रभावकारी बनाउन शाखा विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री