पाँच वर्षभित्र सबै गाउँमा विशेषज्ञ चिकित्सक सेवा

पोखरा, १७ माघ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आगामी पाँच वर्षभित्र सबै गाउँमा विशेषज्ञ चिकित्सक सेवा पुरयाउने मन्त्रालयको लक्ष्य रहेको बताउनुभएको छ ।

बुकवर्म फाउन्डेसन र रयान्डम रिडर्स सोसाइटीको पहलमा यहाँ भएको छैटौँ साहित्यिक महोत्सवमा आयोजित ‘चाँदीका घेरा’ विषयको छलफल कार्यक्रममा उहाँले यसका लागि सरकारी सेवामा प्रवेश गरेका चिकित्सकले एक वर्षसम्म तोकिएका स्थानका जुनसुकै स्वास्थ्य चौकीमा गएर काम गर्नुपर्छ भन्नुभयो ।

उहाँले सातवटै प्रदेशमा मेडिकल कलेज खोली स्नातकस्तरको पढाइ सञ्चालन गरिने बताउँदै तत्कालका लागि सबै प्रदेशमा क्षेत्रीयस्तरको प्रयोगशाला निर्माण गरिने जानकारी दिनुभयो ।

उहाँले रु ६० अर्बको बजेट व्यवस्था हुन सके पाँच वर्षभित्र वीर अस्पतालदेखि सबै गाउँका स्वास्थ्यचौकीमा स्तरीय उपचार सेवा पुरयाउन सकिने नक्साङ्कन मन्त्रालयले कोरिसकिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अबको एक-डेढ वर्षभित्र प्राधिकरणलाई नाफामा लैजाने दृढता व्यक्त गर्नुभयो । अहिले प्राधिकरणले वार्षिक रु १२ अर्बको घाटा व्यहोरिरहेको जनाइएको छ । उहाँले अहिले चुहावट नियन्त्रण गर्न व्यवस्थापन पक्ष लागेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री