पोखरा, १७ माघ । बुकवर्म फाउन्डेसन र रयान्डम रिडर्स सोसाइटीको पहलमा फेवाताल किनारामा जारी छैटौँ संस्करणको साहित्य महोत्सवको आज अन्तिम दिन महजोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल गरिएको छ ।
खचाखच भरिएका सर्वसाधारणबीच मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना साझेदारीका अनुभूति पस्कँदा उपस्थित जो कोही अत्यन्त जिज्ञासाका साथ सुन्न लालयित देखिन्थे ।
छलफलको प्रारम्भमा नै आचार्यले आफूहरूको ३७ वर्षे सहयात्रा निरन्तर रुपमा बढेको बताउँदै सफल साझेदारीका पाठहरू विषयको सो छलफललाई आफूले स्याबासी समारोहका रुपमा लिएको टिप्पणी गर्नुभयो ।
साझेदारी सफल बन्नका लागि कसैको आलोचना भन्दा पनि उसका राम्रा कुराको खोजी आवश्यक हुनेमा जोड दिँदै आचार्यले भन्नुभयो, “मभन्दा धेरै राम्रा गुण मदन दाइमा छन्, उहाँसँग ९० प्रतिशत राम्रा कुरा छन्, मसँग त्यस्तै ५० प्रतिशत मात्र ।” आफ्नो सहयात्रालाई नेपाली दाजुभाइ दिदीबहिनीको आशीर्वादले झन्झन् गाढा बनाएको बताउँदै उहाँले मायासँगै प्राप्त सफलताले सामाजिक दायित्व पनि बढाएको उल्लेख गर्नुभयो ।
‘चिना हराएको मान्छे’ का लेखकले भन्नुभयो “किताब लेख्छु भनेर लेखेको होइन, श्रीमती बितेपछि आफ्नो पीडालाई कापीमा उतारेको हुँ ।”आचार्यले सुरुका दिन बिहान ६ बजेदेखि कार्यालय पुगेर काम गरेको जस्ता धेरै अनुभव दर्शकमाझ सुनाउनुभयो ।
कलाकार मदनकृष्ण श्रेष्ठले एकापसमा विश्वासका साथ सँगै हिँडेकै कारण आफूहरूको साझेदारी लामो समयसम्म सफलताका साथ बढेको धारणा व्यक्त गर्नुभयो । सुरु सुरुमा हास्यव्यङ्ग्यलाई हेय भावले हेरिने गरे पनि पछिल्ला समयमा यसको गरिमा र महत्व बढ्दै गएको जिकिर गर्नुभयो । उहाँले आध्यात्मिकता सबैमा आवश्यक हुनेमा जोड दिँदै राजनीतिज्ञमा पनि आध्यात्मिक भावना हुनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो पुस्तक चाँडै आउने विश्वास दिलाउनुभयो । दर्शकको उत्साहपूर्ण सहभागितामा भएको छलफलको अन्त्यमा कलाकार आचार्यले कुलमान घिसिङको प्रशंसाका साथ विद्युत् चोरी गर्ने गिरोहप्रति कटाक्ष गर्दै कवितासमेत सुनाउन भ्याउनुभएको थियो –“सानो मन भएका ठूलाठूला साहु, बिजुलीमा हुक हाली खानसम्म खाऊ ।” दर्शक मनोरञ्जन लिँदै निरन्तर ताली बजाइरहेका थिए ।
आचार्यले कविता पढेसँगै श्रेष्ठले पनि सुनाए, “हातमुख जोर्न काम धेरै गरियो, बाहुला है माथि सारेर, हाँसीमा हाँसी खुसी भई खाइयो पानीमा गुन्द्रुक तारेर, जतिकै दुःख हुँदामा पनि खाइएन कसैलाई मारेर ।”
गत शुक्रबार सुरु भई आजसम्म जारी महोत्सवका विभिन्न सत्रमा साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विचारकले विभिन्न विषयमा छलफल गरेका थिए । महोत्सवमा साहित्य, कला, चलचित्र, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता