स्थानीय निर्वाचन गराउन सांसदहरुले गराए ध्यानाकर्षण

व्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समयमा बोल्दै एक महिला सांसद । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

काठमाडौँ, १२ माघ । व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित जनतलाई मुआब्जा तथा भूकम्पपीडित आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण कार्य शीघ्र सुरु गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले लोकतन्त्रको मुटुको रुपमा रहेको निर्वाचन (स्थानीय, प्रदेश र संसद्) विसं २०७४ माघ ७ गतेभित्र सम्पन्न गराउन सरकार र निर्वाचन आयोगको ध्यान दिन तथा तराई मधेसमा एक घर एक शौचालय बनाउने अभियान सञ्चालन गर्न माग गर्नुभयो ।

दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि समेत नभएको गुनासो राख्दै उनीहरुले पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी जिल्लाको मौलाखोलाको पुल मर्मत गर्न समेत सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

यसरीे ध्यानाकर्षण गराउनेमा सांसद कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गुरुप्रसाद वुर्लाकोटी, चन्द्रकान्त भण्डारी, गोमा कुँवर, चूडामणि विक जङ्गली, जानकीकुमारी साउद, तप्तबहादुर विष्ट, तुलसा राना, तुलराज विष्ट र गौरीकुमारी ओली हुनुहुन्छ ।

संविधानको प्रावधान अनुसारका निर्वाचन हुन्छ की हुँदैन ?

सांसदहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण गर्न ढिलाइ नगर्न सरकारसित माग गर्नुभयो ।

व्यवस्थापिका संसद्को आजको बैठकको विशेष समयमा उहाँहरुले संविधानको प्रावधानअनुसार एक वर्षभित्र तीन तहको निर्वाचन हुन्छ की हुँदैन ? के कारणले निर्वाचनको तिथिमिति घोषणा गर्न छेक्यो ? भन्ने प्रश्न गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद धनराज गुरुङले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानले महिला सशक्तिकरण हुने चर्चा गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन दलगत स्वार्थ लिनु हुँदैन भन्नुभयो ।

सोही पार्टीका रामहरि खतिवडाले न्यायपालिका जनताको आस्थाका केन्द्र हो, यसलाई राजनीतिक आस्थाको केन्द्र बनाइनु हुदँैन भन्दै देशलाई टुक्र्याउछु भनेर हिँड्नेमाथि किन कारबाही हुँदैन ? भनी प्रश्न गर्नुभयो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले न्यायाधीश नियुक्ति संविधानको भावनाअनुसार नभएको गुनासो गर्दै यस्तो प्रवृत्तिले कसरी संविधान कार्यान्वयन हुन्छ भनी प्रश्न गर्नुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले स्थानीय निकाय पुनःसंरचना आयोगले काठमाडाँैमा बसेर नै प्रतिवेदन तयार पारेको चर्चा गर्दै आयोगका पदाधिकारीले मनोमानी रुपमा सुझाव दिएको र त्यस्ता सुझावले सङ्घीयता कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का जनार्दन ढकालले संविधानअनुसार आगामी एक वर्षभित्र स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्नेमा जोड दिदैं सत्तारुढ दलले नै निर्वाचन नचाहेको आरोप लगाउनुभयो ।

सांसद प्रतिक्षामुखिया तिवारीले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनभित्र के छ, जनताले जान्न पाउने की नपाउने ? भनी प्रश्न गर्दै प्रतिवेदन सार्वजानिक गर्न माग गर्नुभयो ।

सांसद दिलबहादुर नेपालीले हालै काभ्रेमा दलित महिलामाथि भएको कुटपिट घटना बारेमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

सांसद लक्ष्मण राजवंशीले देशको अर्थतन्त्रका बारेमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गर्दै लगानी वातावरण नुहँदा अर्थतन्त्रमा मन्दी आएको विचार व्यक्त गर्नुभयो ।

सांसद मीना पुनले विस २०६५ मा कोसी बाँध मरम्मत गर्न कोसी क्षेत्रमा आएका भारतीय प्राविधिक अहिलेसम्म कोसी नछाडेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सीता गुरुङले कार्यापालिकामा महिला समावेशितालाई ध्यान नदिएको गुनासो गर्दै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गर्न माग गर्नुभयो ।

सांसद बलदेव महतले संविधान कार्यान्वयन गर्न सरकारले आफ्नो कार्ययोजना सार्वजानिक गर्नुपर्नेमा जोड दिदैं स्थानीय निकाय पुनःसंरचना आयोगले जनताको भावना विपरित सरकारलाई प्रतिवेदन बुझाएको बताउनुभयो ।

सांसद रामअयोध्याप्रसाद यादवले तराई–मधेसको लाइफ लाइनका रुपमा रहेका हुलाकी सडक निर्माण दू्रतगतिमा गर्नुपर्ने बताउँदै स्थानीय निकाय पुनःसंरचना आयोगले हचुवाका आधारमा प्रतिवेदन सरकारलाई बुझाएको आरोप लगाउनुभयो ।

सांसद आनन्द पोखरेलले सुन तस्करीका बारेमा सरकारले सदनलाई जानकारी दिन माग गर्दै न्यायाधीश नियुक्तिमा सरकारले भेद्भाव गरेको आरोप लगाउनुभयो ।

सांसद प्रेम सुवालले उपत्यकाका सडक विस्तार गर्दा स्थानीय बासिन्दाका माग पनि सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री