लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपालको साहसिक पर्यटन प्रवर्धन सम्वन्धि कार्यक्रम भएको छ । सोमबार सांझ
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षगांठ मनाउने क्रममा ‘नेपाल अ डेस्टिनेसन फर एड्भेन्चर ट्राभल’ नामक कार्यक्रम गरिएको हो ।
दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल ट्रेकिङ, रयाफ्टिङ, स्काइ डाइभिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइक यात्रा, रक क्लाइम्बिङ, अल्ट्रा लाइट एयर क्राफ्ट उडान जस्ता साहसिक पर्यटनका लागि उत्कृष्ट भएको चर्चा गरियो ।
कार्यक्रममा प्रमुख अतिथी थिए नेपालका शिक्षामन्त्री धनीराम पौडेल । मन्तव्यका क्रममा उनले नेपालको प्राकृतिक सौन्दर्यताको चर्चा गर्दै पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको धारणा राखे । मन्त्री पौडेलले सरकारले पर्यटन क्षेत्रलाई गम्भीर रुपमा लिएको बताउंदै नेपालीहरु पर्यटकको अतिथी सत्कारमा प्रतिक्षा गरिरहेको समेत बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव शंकरप्रसाद अधिकारीले बेलायत नेपालको पुरानो मित्र राष्ट्रमात्र नभइ पर्यटनको मुख्य आयश्रोत भएको समेत बताए । उनले सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटक नेपाली गएको चर्चा गर्दै बेलायती राजकुमार हयारीको नेपाल भ्रमण पर्यटन प्रवर्धनमा कोसेढुंगा भएको धारणा राखे । अहिले विश्वव्यापी रुपमै साहसिक पर्यटन विकास भइरहेको उल्लेख गर्दै सचिव अधिकारीले लोन्ली प्लानेटले सन् २०१७ मा घुम्न लायक टप टेन देशमध्ये नेपाल उत्कृष्ट ५ औं भित्र परेको जानकारी दिए ।
लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतबाट सन् २०१६ मा ४६ हजार बढि पर्यटकले नेपाल भ्रमण गरेको उल्लेख गर्दै नेपाल साहसिक यात्राका लागि उत्कृष्ट गन्तव्य भएको बताए । डा. सुवेदीले लोन्ली प्लानेटले नेपाललाई सन् २०१७ का लागि टप टेनमध्ये पांचौं उत्कृष्ट देशमा राखेको अवगत गराउंदै राजदूतले नेपालीहरु पर्यटकलाई भगवानसरह मान्ने उल्लेख गरे ।
सन् १९९२ मा पहिलो पटक नेपाल पुगेका र बारम्बार नेपाल गएर त्यहांको प्रकृतिलाई आफ्नो चित्रकलामा समावेश गरेका स्टेफेन जे किङले पनि नेपाल भ्रमण र लाङटाङ अनुभव बांडे ।
नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर मणिराज लामिछानेले दुईवटा बेग्लाबेग्लै साहसिक पर्यटन भिडियो प्रस्तुत गर्दै नेपाल साहसिक यात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा सुशिल प्रजापति, आशिष श्रेष्ठ र आयुसा श्रेष्ठले लाखे र भैरव नाच प्रस्तुत गरे भने दिल तामाङले नेपाली ठिटो…बोलको गीतमा आकर्षक नृत्य देखाए । कार्यक्रममा कलाकार, नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर मणिराज लामिछाने र बेलायती चित्रकार स्टेफेन जे किङलाई राजदूत डा. सुवेदी र पर्यटन सचिव अधिकारीले सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ