स्थानीय निर्वाचन वैशाख अन्तिम साता ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार संसद भवन नयाँ बानेश्वरमा संसदीय मामिला पत्रकार समाजद्वारा आयोजित विमोचन समारोहमा ‘संसदीय पत्रकारिता’ नामक पुस्तक विमोचन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन समारोहमा आज प्रधानमन्त्री दाहालले यही माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी आवश्यक विधेयक संसदबाट पारित गराई निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छिटोमा वैशाख २५ गते र ढिलोमा वैशाख ३० गते सुरु गरी जेठकोे दोस्रो सातासम्म निर्वाचन सम्पन्न हुने गरी प्रमुख दलहरुबीच सहमति भएको छ ।” संविधान जारी गर्ने बेलामा नै असन्तुष्ट दललाई सहमति ल्याउन प्रमुख तीन दलबीच संविधान संशोधन गर्ने सहमति भएको जनाउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सोही दिशामा सरकारले संशोधनमार्फत संविधानको स्वीकार्यता फराकिलो बनाउन पहलकदमी लिएको छ ।”

प्रधानमन्त्री दाहालले संशोधनको प्रक्रिया अघि बढाएर असन्तुष्ट दललाई पनि निर्वाचनमा आउने वातावरण बनाउन सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै राजनीति विशुद्ध अङ्कगणितीय हिसाबले मात्र चल्नु हँुदैन भन्नुभयो ।

कार्यक्रममा सभामुख ओनसरी घर्तीले संविधानमा उल्लेख भएअनुसार स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गर्न एक वर्ष मात्र समय बाँकी रहेका बेला निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच भएको सहमतिको प्रशंसा गर्नुभयो ।

सभामुख घर्तीले लोकतान्त्रिक अभ्यास गर्ने मुख्य थलोका रुपमा रहेको संसद्का गतिविधि जनतासम्म पुरयाउन सञ्चारमाध्यको भूमिका महत्वपूर्ण रहेको भन्दै संसदीय रिर्पोटिङ गर्ने पत्रकार संसद्का मानार्थ सदस्यका रुपमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सञ्चारमाध्यमले संसद् र जनतालाई जोडेको बताउँदै सञ्चारमाध्यमको निगरानीका कारण नै बैठकमा सांसदहरु अध्ययनका साथ चनाखो रुपमा प्रस्तुत हुने गरेको धारणा राख्नुभयो ।

पूर्वसभामुख एवम् नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलबीच भएको सहमति संविधान कार्यान्वयनमा पनि हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक युवराज घिमिरे, नेपाल पत्रकार महासङ्घका प्ूर्व अध्यक्षद्वय विष्णु निष्ठुरी र शिव गाउँले, समाजका अध्यक्ष राजेन्द्र फुयाँल र सचिव अशोक दाहालले नेपालको संसदीय पत्रकारिताको इतिहासका बारेमा प्रकाश पार्दै ‘संसदीय पत्रकारिता’ पुस्तक संसदीय रिर्पोटिङ गर्ने पत्रकारका लागि महत्वपूर्ण सामग्री हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री