अवकाश पछिको जीवन कसरी सदुपयोग गर्ने ?

काममा सक्रिय जीवन बिताउनेहरुको लागि र आफूलाई  सदा  सक्रिय राख्नेहरुलाई  अवकाश शब्द त्यति प्रिय नलाग्न सक्छ । आफूले चाहेर वा नचाहेर मानिसको जीवनमा वा बिशेष गरि जीवनको उत्तारार्धमा आफ्नो कामबाट अवकाश लिनु पर्ने हुन्छ । मेरो विचारमा अवकाश लिनु भनेको निष्क्रिय हुनु हैन । कामबाट अवकाश लिनु भनेको दैनिक रुपमा आफूले जीवन धान्नको लागि वा कमाउनको लागि गर्ने कामबाट छुटकारा लिनु हो । कामबाट अवकाश लिए पनि  मानिसले आफूलाई कुनै न कुनै रुपमा सक्रिय राख्नु पर्छ । सक्रिय हुनु भनेको आफ्नो शरीरलाई मात्रै हैन मनलाई पनि सक्रिय राख्नु हो ।  मानिसले आफूलाई सक्रिय राख्यो भने मात्रै आफ्नो मनलाई खुसी राख्न सकिन्छ । अनि मात्रै स्वस्थ, खुसी र सुखी जीवन जिउन सकिन्छ ।

अवकाश पछिको जीवनमा  पनि आफूलाई खुसी राख्नको लागि अवकाश पछिको जीवनको बारेमा काम गर्दाको बखत नै सोच्नुपर्ने हुन्छ । अझ नेपालको परिप्रेक्ष्यमा त काम पछि बुढेस कालमा अवकाश लिने भनेको जागिर खानेको लागि मात्रै हो । अरु धेरैले त आफ्नो जिउले सकेसम्म काम गर्ने नै हो । सबैको लागि कामबाट  वा राज्यबाट पेन्सन प्राप्त हुन्छ भन्ने छैन ।  पेन्सन प्राप्त भए पनि त्यो आफ्नो र परिवारको जीवन धान्न पर्याप्त हुन्छ भन्ने पनि छैन ।  बुढेसकालको जीवन धान्न राज्यबाट सुबिधा प्राप्त हुन्छ नै भन्ने पनि छैन । राज्यबाट सुबिधा प्राप्त हुने मुलुकमा पनि त्यस्तो सुबिधा आफ्नो जीवन चलाउन पुग्ने हुन्छ भन्ने छैन ।  त्यसैले पनि आफ्नो अवकास पछिको जीवनको बारेमा पूर्व तयारी गरिएन भने आफ्नो जीवन धान्न मुश्किल हुन्छ ।

हामी सबैले र काम गरी कमाउनेहरुले पनि अवकाश पछि आर्थिक रुपमा सबल हुनको लागि  वा जीवन धान्नको लागि के गर्ने भन्ने सोच्नु जरुरी छ ।  तसर्थ, काममा सक्रिय हुँदै गर्दाको अवस्थामा  आफ्नो आम्दानीको एक निश्चित अंश राम्रो प्रतिफल आउने कुनै ठाउँमा लगानी गर्ने, निश्चित रकम भविष्यको लागि जम्मा गर्ने वा अरु कुनै उपायले आफ्नो भविष्य सुरक्षित पार्न सबैले सोच्नु पर्ने हुन्छ ।

नेपाली संस्कार अनुसार बुढेसकालको जीवन धान्नको लागि आफ्नो छोराहरुमा आश्रित हुने प्रचलन छ ।   तर, यो प्रचलनमा बिस्तारै परिवर्तन हुँदै गरेको पाइन्छ । हामी जस्ता विदेशमा बस्नेहरूको लागि हाम्रा केटाकेटीहरुले हामीलाई बुढेसकालमा पाल्नु पर्छ भन्ने कुनै क़ानूनी दायित्व छैन । हुन त, कानूनी दायित्य भए पनि नभए पनि यो कुरा नैतिक दायित्वको कुरा हो । संस्कारको कुरा हो । यो सबैको कर्तब्य हो की आफ्ना आमा बुवालाई मान सम्मान गर्ने, हेरचाह गर्ने र दुख परेको बेला साथ दिने । आफ्नो दायित्व बोध हुनेले जहाँ बेस पनि जे गरे पनि आफ्ना आमा बुवाप्रतिको कर्तब्य पूरा गर्छन् ।

अवकाशपछि आफूलाई कसरी ब्यस्त र खुसी राख्ने भन्ने बारेमा मानिसको आ-आफ्नो धारणा हुन सक्छ । अवकाश पछिको जीवन आफ्नो जीवन हो । न त कामको चिन्ता, न त केटाकेटीलाई हुर्काउनु पर्ने, पढाउनु पर्ने वा कुनै जिम्मेवारी नै लिनु पर्ने । त्यसैले जे गर्दा आफ्नो मन खुसी हुन्छ वा आत्मा सन्तुष्टि मिल्छ त्यही गर्नुपर्छ । कसैलाई घुमफिर गर्न मन लाग्छ होला त कोही समाज सेवामा आफूलाई संतुष्ट पाऊँछन् होला । कोही कामको ब्यस्तताले आफूले कहिले गर्न नपाएको काम जस्तै, पेंटिंग, नाचगान, लेखपढ, वा खेतीपाती गरेर आफूलाई खुसी राख्न सक्छन् । जुनसुकै काम गरे पनि आत्मा सन्तुष्टि हुने वा आफू हुने काम गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।

हाम्रो नेपाली समाजमा अवकाश लिने वा अवकाश पछिको कसरी जीवन सुखमय बिताउने भन्ने सोच र चिन्तनको कमी छ । बिशेसगरी नेपाली राजनीतिज्ञहरुले सक्रिय राजनीतिबाट अवकाश लिएको कुरा बिरलै मात्रामा सुन्न सकिन्छ । मेरो विचारमा त्यसको तीन पक्षहरु  छन् । पहिलो पक्ष, भनेको राजनीति नशा हो ।  जसलाई नसा लाग्छ उसलाई नसाबाट छुटकारा दिलाउन खुब मुश्किल पर्छ ।

दोश्रो, पक्षको कुरा गर्दा राजनीति भनेको सोख हो । राजनीति कुनै कारकापमा गरिन्न । राजनीतिमा कुनै लोभ र लाभको कुरा गर्नु हुँदैन । यो निस्वार्थ देश र जनताको लागि गरिने कुरा हो । त्यसैले जो सोखले वा निस्वार्थ भावले कुनै काम गर्छ त्यसले अवकाश लिने भन्ने कुरा नै हुँदैन भन्ने तर्क पनि हुन सक्छ । तेश्रो, कुरा भनेको राजनीति र शक्ति सम्बन्धित छन् । राजनीतिज्ञहरु राजनीतिलाई नै शक्तिको श्रोत मान्छन् र आफूलाई शक्तिको वरिपरि राख्न चाहन्छन् । त्यसैले पनि नेपाली राजनीतिज्ञहरु आफूलाई अवकाश लिने कुरा सोच्न र राजनीतिबाट अवकाश लिन चाहना गर्दैनन् जस्तो लाग्छ मलाई ।

तर, जे भए पनि हरेक मानिसको शारीरिक र मानसिक हिसाबले पनि काम गर्ने एउटा सीमा हुन्छ ।  कसैले आफ्नो त्यो सीमा पचास वर्ष तोकेको होलान् भने कसैले साठी वा पैसठ्ठी वर्ष ।  त्यो पनि आफ्नो खुसी र मनको कुरा हो ।  साथसाथै, आफ्नो आर्थिक र भौतिक आवस्यकता पूरा गर्नको लागि कति  वर्षसम्म काममा सक्रिय हुने र कहिले अवकाश लिने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यो नितान्त ब्यक्तिगत परिवेशमा भर पर्ने कुरा हो ।

माथि उल्लेखित कुरा त सिद्धान्तका कुरा वा तर्क वितर्क भए । अब आफ्नै कुरा गरूँ । म पनि सक्रिय कामबाट केही वर्षमा अवकाश लिनु पर्छ भन्ने सोच्दैछु ।  त्यसको अर्थ पूर्णकालिन पेशा वा काम छोडेर आफ्नो मनले चाहेको वा आत्मा सन्तुष्टि हुने कुनै काम गर्ने भन्ने हो र म निष्क्रिय हुने भन्ने हैन । म चाहान्छु जब मेरा छोरा छोरीप्रतिको मेरो दायित्व पूरा हुन्छ, जब उनीहरु आर्थिक रुपमा सबल र सक्षम हुन सक्छन् तब सक्रिय कामबाट अवकाश  लिनु पर्छ भन्ने मेरो मान्यता हो ।

मैले एसएलसी दिएको पन्ध्र दिनपछि नै पूर्णकालिन काम वा जागीर सुरु गरें । त्यस पछि म निरन्तर काम गर्दैछु । त्यसमाथि धेरै वर्ष त पूर्णकालिन काम र आंशिक समय पढ़ाई गरें । मैले ३१ वर्षभन्दा बढ़ी निरन्तर रुपमा जागिर खाएँ । यो अवधिमा विभिन्न पेशाहरु गरें । जीवनमा धेरै उकाली ओरालीहरु पार गरें । धेरै सफलताका सिढींहरु पनि चढ़ें । त्यसैले अबको केही वर्ष पछिको समय पूर्णकालीन पेशा छोडेर अवकाश प्राप्त जीवन जिउने र आफ्नो मनले खाएको कुरा गर्ने वा स्वतंत्र हिसाबले जीवन जिउनु पर्छ भन्ने मेरो विचार हो । तर, के गर्ने वा कसरी मेरो समय उपयोग गर्ने भन्ने कुरा शायद समयले निर्धारण गर्ने छ ।

मानिसका इच्छा र आकांक्षाहरु असीमित हुन्छन् । झन मानिसलाई पैसा कमाउनको लागि एक पछि अर्को असीमित चाहनाहरु  थपिंदै जान्छन् र त्यसको अन्त्य कहिले पनि हुँदैन । त्यसैले आफ्नो इच्छा र आकांक्षाको सीमा तोक्ने आफैंले हो । आफ्नो जीवन जिउने र भोग्ने आफैले हो । आफूलाई के गर्दा खुसी र आत्मा सन्तुष्टि मिल्छ त्यसको त्यो तय गर्ने र त्यही अनुरूप जीवन पद्धतिको बिकास गर्ने आफैँले हो ।

अवकाश लिनु भनेको पेशा वा कामबाट स्वतन्त्र हुनु हो । तर फुर्सदिलो हुनु वा निष्क्रिय हुनु हैन ।  मेरो विचारमा कामबाट अवकाश लिनु  नयाँ गन्तब्यको शुरुवात गर्नु हो । आफूलाई खुसी वा आत्मा सन्तुष्टि हुने कुरा गर्नु हो । त्यो पनि जीवन जिउने एक कला हो ।  कामबाट अवकाश लिनु भनेको आफू भित्र आफूलाई खोज्ने, पाउने र रमाउने मौक़ा पनि हो ।  म पनि त्यही अवसरको पर्खाइमा छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री