आइतबार, कार्तिक १६ २०७७ | Sun, November 01, 2020
नेपालको समय: ००:२३ | UK Time: 18:38

लर्ड मेयर अफ द सिटी अफ लन्डन राजधानीमा

वीनेपाली
२०७३ माघ ८ गते १३:४३
काठमाडौँ, ८ माघ । नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुरयाउन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म नेपालको चारदिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिस र नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्रीले स्वागत गर्नुभयो ।
बेलायतमा मन्त्रिस्तरको पद सम्हाल्नुभएका उहाँ उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व
तथा गैरराजनीतिकस्तरका बेलायतका उच्च कूटनीतिक व्यक्तित्व मानिनुहुन्छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यहाँ रहँदा उहाँले उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि उहाँको भेट गर्ने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमको उहाँले अवलोकन गर्नुहुनेछ । बेलायतको ‘सम्माननीय’ पदवीबाट विभूषित उहाँ आठ सय ६९ औँ लर्ड मेयर अफ द सिटी अफ लन्डन हुनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक