ज्ञवालीले गुहारे अदालत

काठमाडौँ, ३ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःबहालीको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको जनाई अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै निवेदन दिनुभएको हो ।

निवेदनमा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ दफा ११ (३) मा पाँच वर्षको पदावधि हुने उल्लेख भएकाले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने पत्रमा नै पाँच वर्षका लागि नियुक्त गरिएको तथा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको हैसियतले कानुनले तोकेको काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग गर्दै आएको जिकिर गरिएको छ ।

‘आफ्नो नेतृत्वमा प्राधिकरणले गरेका पुनःनिर्माणसम्बन्धी समन्वयात्मक कार्यको तथ्यपरक र विस्तृत रुपमा नै पहिलो र दोस्रो स्पष्टीकरणमा उल्लेख गरिसकेकामा र त्यसको कुनै अध्ययन विश्लेषण नै नगरी समन्वय गर्न नसकेको भनी डा पोखरेललाई नियुक्ति गर्ने विपक्षीको निर्णय आफ्नो कार्य सम्पादनसँगभन्दा पनि विपक्षीको पूर्वसहमति र योजनाको कार्यान्वयन मात्र भएको’ भन्ने कुरा निवेदनमा उल्लेख गरिएको छ ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई पाँच वर्षका लागि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पुस १४ र २१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री