
लिबाङ (रोल्पा), २८ पुस । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् ।
यस्ता दम्पतीको घर सन्तानले भरिएको पाइन्छ भने कतिपय अवस्थामा आमाछोरी सँगसँगै सुत्केरी हुने गरेका पनि छन् ।
लिबाङ नगरपालिका–५ देउरालीकी ४१ वर्षीया गौसरी वली र उहाँका श्रीमान् ४८ वर्षीय खटकलाल वलीले छोराको आशमा १२ सन्तानको जन्म दिइसक्नुभएको छ । तीन सन्तानको सानैमा मृत्यु भएको भएपनि वली दम्पतीका ९ सन्तान छोरीहरु जीवितै छन् । कमजोर आर्थिक अवस्था रहेका वली दम्पतीले अझैपनि परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमानेको महिला स्वास्थ्य स्वयंसेविका सुनिता महराले जानकारी दिनुभयो ।
उहाँका अनुसार वली दम्पतीका जेठी छोरीको करिव ४ वर्ष पहिले विवाह भइसकेको छ । हाल उहाँबाट छोरा जन्मिसकेको छ । तर पनि वली दम्पतीबाट सन्तान जन्मने प्रकृया रोकिएको छैन ।
“आमाछोरी सँगसँगै सुत्केरी हुन्छन्,” वली परिवारका छिमेकीले भन्छन् । वली दम्पतीले छोराको आशमा परिवार नियोजनका साधनहरु प्रयोग नगरेको महिला स्वास्थ्य स्वयंसेविका महराले जानकारी दिनुभयो ।
त्यसैगरी, लिबाङ–१ रोल्पाका ४० वर्षीया कली रोका र उहाँका श्रीमान् ४५ वर्षीय गने रोकाले परिवार नियोजनका साधन प्रयोग नगर्दा नौ सन्तानको जन्म दिइसक्नुभएको छ । तीमध्ये तीन सन्तानको मृत्यु भएको भएपनि हाल रोका दम्पतीका छ सन्तान जीवितै छन् । उहाँहरुको पनि जेठी छोरीको विवाह भएर दुई सन्तान (नातिनातिनी) जन्मिसकेका छन् । यता, रोका दम्पतीको सन्तान जन्माउने प्रकृया रोकिएको छैन । गतः मङ्सिर महिनामा कली पुनः सुत्केरी हुनुभएको छ । यसरी कली लगातार सुत्केरी हुन थालेपछि महिला स्वास्थ्य स्वयंसेविकाले उहाँहरुको घरमै पुगी परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । कलीले तीनमहिने सुइ डिपो लगाउनुभयो तर सुइले असर गरेको भन्दै साधन प्रयोग गर्न छोडेपछि कलीको पछिल्लो गर्भ रह्यो र छोरीे जन्मियो । महिला स्वास्थ्य स्वयंसेविकाका अनुसार रोका दम्पतीलाई पटकपटक घरमै पुगी परिवार नियोजनका साधनको प्रयोग गर्न सल्लाह दिँदै आएको भएपनि उनीहरुले त्यसमा विश्वास गरेका छैनन् ।
करिव २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी कलीले परिवार नियोजनका साधन प्रयोग नगर्दा दुई–दुई वर्षको अन्तरालमा बच्चा जन्माउदै आउनुभएको छ ।
लिबाङ–४ रोल्पाकी ३९ वर्षीया विष्णु रावत र उहाँका ४० वर्षीय श्रीमान् हर्कबहादुर रावतका पनि ४ भाइ छोरा र ३ बहिनी छोरी गरी ७ जना सन्तानले घर भरिएको छ । जेठी छोरीको दुई वर्ष पहिले विवाह भइसकेको भएपनि रावत दम्पतीले परिवार नियोजनका साधन प्रयोग नगर्दा उहाँहरुको पनि बच्चा जन्मने प्रकृया रोकिएको छैन । जेठी छोरीको विवाह भएको करिव एक वर्षपछि विष्णुले कान्छी छोरीको जन्म दिएको महिला स्वास्थ्य स्वयंसेविका अनिता रावतले जानकारी दिनुभयो । उहाँका अनुसार हुर्किसकेका सन्तानले बाबुआमालाई अब बच्चा नजन्माउन सल्लाह दिँदै आएका छन् । तर पनि रावत दम्पतीमा साधन प्रयोग नगर्दा बिरामी परिने डर रहेको छ । ज्याला मजदूरी गरेर परिवार पाल्दैआएका रावतका श्रीमान् हर्कबहादुरमा साधनको प्रयोगबाट स्वास्थ्य कमजोर पो भइहाल्ला कि भन्ने चिन्ता छ ।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको वार्षिक प्रतिवेदन अनुसार २०७०, ७१ मा ४७ प्रतिशत, २०७१, ७२ मा ३९ प्रतिशत र २०७२, ७३ मा ३७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनहरुको प्रयोग गर्दै आएका छन् । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा साधन प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि हुँदै जानुको साटो घट्दै गएको देखिन्छ । यस जिल्लामा सन् २०१७ सम्ममा परिवार नियोजनको प्रयोगदर ६० पुरयाउने सरकारको लक्ष्य रहेपनि हाल सम्म यो सङ्ख्या आधाआधीकै हाराहारीमा छ ।
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगी वैदेशिक रोजगारीमा श्रीमान्हरु जाने भएकाले परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको सङ्ख्यामा कमी आएको हुन सक्ने बताउनुहुन्छ । डाँगीका अनुसार मदिरा सेवन र छोरा जन्माउने लालसा सङ्ख्या कमी हुनुका अन्य कारण हुन् ।
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय