संशोधन पारित गर्न गठबन्धनको आह्वान

संयोजक उपेन्द्र यादव

काठमाडौँ, २७ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धनको बैठकले संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पुरयाएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न सरकारलाई आग्रह गरेको संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।

बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनसहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै, गठबन्धनले संविधान संशोधनको माग गर्दै आगामी माघ १ गते काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संविधान संशोधनका लागि दबाब दिन र भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको संयोजक यादवले बताउनुभयो ।

केही दल सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्यमा उद्यत रहेकाले त्यसतर्फ सचेत रहन गठबन्धनले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री