बेलायतमा तमुहरुको ‘ल्होछार’ मा उर्लियो जनसमुदाय

losar-1

लन्डन । बेलायतका तमुहरुले आफ्नो महान पर्व ‘ल्होछार’ भव्य 
समारोहबीच मनाएका छन् । तमुधिं यूकेले शनिबार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा हजारौं सहभागीबीच १६ औं ल्होछार कार्यक्रम गरेको हो ।

तमुहरुको मौलिक उक्त महान पर्वमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरियो । नेपालबाट आएका गायक गायिकाहरु मिलन अमात्य, मनोज गुरुङ, सम्झना लामिछाने, मधुसुदन थापा, बिग आइकन साजन आलेले गायन प्रस्तुत गरे भने विभिन्न तमुधिं इकाइले आफ्नो मौलिक नाच देखाएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले गुरुङ संस्कार र संस्कृतिले नेपाल र नेपालीको पहिचान अनि प्रतिष्ठा विश्वभर बढाएको धारणा राखे । उनले विविधतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै नेपालीहरु सयौं थुंगा फूलमा उनिएको एउटा सुन्दर माला जस्तै भएको बताए ।

15857008_1477735758921223_1206488727_o

प्राज्ञ एवं संस्कृतिवीद डा. जगमान गुरुङले ल्होछार महत्वमाथि प्रकाश पारे । कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले औपचारिक कार्यभार सम्हाल्ने क्रममा बेलायतमा तमु ल्होछार बेग्ला बेग्लै मनाइने परम्परा अन्त्य गर्दै आगामी वर्षदेखि सामूहिक ल्होछारको पहल गर्ने बताए । उनले तमुधिं यूके स्थापनाको १६ वर्ष अवधिमा संस्थाले जातीय उत्थान, कला संस्कृतिको जगेर्ना तथा सामाजिक सेवामा अहंम भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफ्नो कार्यकालमा तमु भवनको भौतिक संरचना अझ परिवर्तन 
गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । तमुधिं यूके निवर्तमान अध्यक्ष सूर्जे 
(रामचन्द्र) गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।

उक्त अवसरमा जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डा. हर्क एवं डा. चन्द्र अवार्ड तथा समाजसेवीलाई कम्युनिटी अवार्ड प्रदान गरियो । अवार्ड कार्यक्रम हरिकाजी गुरुङले सञ्चालन गरेका थिए । संस्थाले ल्होछारको अवसरमा फ्रेंसी पत्रिका विमोचन समेत गरेको छ । उक्त पत्रिकाका सम्पादक हुन् रोहित गुरुङ ।

losar-2

कार्यक्रममा नेपालबाट आएका विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु लगायत हजारौं सहभागी भए । कार्यक्रम शुरु हुनु अघि क्याप्टेन सूर्यप्रकाश गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेका थिए भने बेलायत र नेपालको राष्ट्रिय गान बजाइएको थियो । त्यसै अवसरमा तमुधिं यूकेले नेपाली मेलामा केन्द्रित भएर निर्माण गरेको म्यूजिक भिडियो समेत सार्वजनिक गरियो जसको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । महासचिव हरि गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा सहसंयोजक कृष्ण गुरुङले स्वागत मन्तव्य दिए ।

संस्थाले ल्होछारको अघिल्लो दिन ३० डिसेम्बरमा बीसीसी यूके गुम्बा, अल्डरसटमा धार्मिक पूजा समेत गरेको थियो ।

15824014_1477737228921076_53286209_o

तस्विरः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री