हात्तीको फुटबल फाइनलमा प्रभु बैंक र अर्घाखाँची सिमेन्ट भिड्ने

चितवनको सौराहामा आज भएको अर्घाखाँची सिमेन्ट विरुद्ध कुमारी बैंकको फुटबल प्रतियोगितामा बल अगाडी बढाउँदै हात्ती । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन) । रासस

चितवनको सौराहामा आज भएको अर्घाखाँची सिमेन्ट विरुद्ध कुमारी बैंकको फुटबल प्रतियोगितामा बल अगाडी बढाउँदै हात्ती । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन) । रासस

रत्ननगर (चितवन), १३ पुस । चितवनको सौराहामा भएको हात्तीको छावाको रोमाञ्चक फुटबल प्रतियोगितामा प्रभु बैंक र अर्घाखाँची सिमेन्टबीच फाइनल भिडन्त हुने भएको छ ।

आज भएको सेमी फाइनल खेलमा आर्मी मोटर्सलाई हराउँदै अर्घाखाँची सिमेन्ट विजयी भएपछि उसले फाइनलमा प्रभुसँग भिड्ने पक्का गरेको हो ।

यसअघि मङ्गलबारको खेलमा सिजी फुड्सलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रभु बैंकले फाइनलको यात्रा तय गरेको थियो । जारी हात्ती महोत्सवअन्तर्गत आज भएको अर्घाखाँची र आर्मी मोटर्सबीचको खेल १–१ को बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । निर्धारित ३० मिनेटको खेलमा अर्घाखाँचीका सोमेश्वरगजले २४ मिनेटमा गोल गरेका थिए भने आर्मी मोटर्सको सौराहागजले खेलको अन्तिम मिनेटमा गोल गर्दै बराबरीमा रोकेको थियो ।

त्यसपछि पेनाल्टीमा गएको खेलमा आर्मीका कसरागजले मात्रै एक गोल गर्न सफल भयो । उसको बाबुप्रसाद र सौराहा गजले मिस गर्दा उसको खेला यात्रा टुङ्गिएको हो । अर्घाखाँचीका तर्फबाट सोमेश्वरगजले मिस गरे पनि सिमसारकली र माडीगजले १÷१ गोल गरेर जित दिलाएको खेलको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । यही १५ गते फाइनल भिडन्त हुनेछ ।

यता एयर डाइनाष्टिक हात्तीपोलो प्रतियोगितामा विनोद चौधरीको ह्याट्रिकसँगै कुमारी बैंकलाई ३–२ गोल अन्तरमा हराउँदै ब्ल्यू प्लानेटले दोस्रो चरणको यात्रा तय गरेको छ । चौधरीले ९, ११ र १२ मिनेटमा गोल गरे ।

निर्धारित २० मिनेटको खेलमा कुमारीका योगेन्द्र अधिकारीले ६ मिनेटमा र श्रीमङ्गल महतोले थपिएको एक मिनेटमा गोल गरे । आज भएको हात्ती दौड प्रतियोगितामा अनारकली, बम्बोजकली र एकताकली फाइनलमा गएको छ । डुङ्गा दौडतर्फ तीनवटा डुङ्गा फाइनलमा गएको छ भने गाडा दौडतर्फ छ वटा गाडा दोस्रो चरणमा प्रवेश गरेको नतिजा प्रकाशन समितिका सदस्य परमानन्द गर्गले जानकारी दिनुभयो ।

हात्ती सुन्दरी सुरु 

आजदेखि हात्ती महोत्सवअन्तर्गतको आकर्षक हात्ती सुन्दरी प्रतियोगिता सुरु भएको छ । आज भएको प्रतियोगितामा पाँचमध्ये तीन हात्ती फाइनलमा प्रवेश गरेका छन् । सुन्दरीमा सहभागी एलीसाकली र बिजुलीकली भने पहिलो चरणमै बाहिरिएका छन् । सेल्फी कली, एकताकली र पुष्पाकलीले फाइनलमा भिडन्त गर्ने सुन्दरी प्रतियोगिताका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार तीनमध्ये एउटा हात्तीलाई सुन्दरी घोषणा गरिनेछ भने फस्ट रनरअप र सेकेन्ड रनरअफ घोषणा गरिनेछ । महोत्सवको अन्तिम दिन फाइनल हुने जनाइएको छ । ११ गतेदेखि सुरु हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री