हात्तीपोलो देखाउन आतुर छ सौराहा !

चितवनको सौराहामा हात्तीपोलो खेलमा सहभागी हुँदै हात्तीहरु । तस्वीर ः नारायण ढुंगाना , रासस

चितवनको सौराहामा हात्तीपोलो खेलमा सहभागी हुँदै हात्तीहरु । तस्वीर ः नारायण ढुंगाना , रासस

सौराहा (चितवन), १० पुस । सेल्फीकली र बिजुलीकली नयाँ छिन् । हात्ती महोत्सवमा उनीहरुको पहिलो प्रवेश हो । पवनकलीसहित पुनम, एलिसा, पुष्पा, लक्ष्मी, व्यूटी र समृद्धिकली अन्तर्राष्ट्रिय हात्तीपोलो खेलका पहिलो सहभागी बन्दैछिन् । विगत एक महिनादेखि तालिम दिइएकाले उनीहरु हात्तीपोलोका लागि खारिएका छन् ।

त्यसमध्ये सेल्फी, बिजुली, एलिसा र समृद्धि चलाख छिन् । ‘बिजुलीले त ह्याट्रिक नै गरिन्,’ प्रशिक्षण खेलका खेलाडी योगेश अधिकारीले भने – ‘पोलोमा यी हात्ती चम्किन्छन् होला ।’ यसपटक हात्ती महोत्सवकै लागि सेल्फीकली र बिजुलीकलीले डेब्यु गर्दैछिन् ।

सेल्फीकलीका माहुत सुकबहादुर गुरुङ भन्छन् – ‘हात्तीको मात्रै होइन, पोलोमा मेरो पनि पहिलो अनुभव हुँदैछ ।’

उनीहरुलाई प्रशिक्षण दिनेमा चितवन निकुञ्जका पुराना र पोलो खेलका अनुभवी खेलाडीहरु छन् । उनीहरुले विश्वमै पहिलो पटक चितवनको मेघौलीमा पोलो खेल हुँदा खेल्ने गरेका थिए ।

चितवन निकुञ्जका तर्फबाट सहभागी हुँदा उनीहरु अरुलाई ४–५ गोल उपहार दिएर पनि जित्ने गरेका पुराना खेलाडी राजेन्द्र पनुवार सुनाउँछन् ।

अहिले हात्तीपोलोका लागि ब्ल्यू प्लानेट, शारदा टुर, म्याम्स प्लाई, कुमारी बैंक, नेपाल स्पोटर््स कल्चर इन्टरनेशनल, कुमकुम सेरामिक्सले सहभागी जनाउन लागेको पोलो खेलका संयोजक शंकर सैंजु बताउँछन् ।

मान्छेले फुटबल, भलिबल, क्रिकेट, हक्की जस्ता खेल खेले जस्तै अजङ्गका हात्तीले पनि खेल खेल्छ । यो कुरा कतिलाई आश्चर्य पनि लाग्ला । चितवनमा हात्तीले पनि खेल खेल्छ । सोमबार पुस ११ देखि १५ सम्म चितवनको सौराहामा यी सबै दृश्य देख्न पाइन्छ ।

हात्तीले फुलबल खेल्छ, पोलो खेल्छ, ऊ दौड प्रतियोगितामा सहभागी हुन्छ । ऊ क्वाटवाक गर्छ, सुन्दरी प्रतियोगितामा सहभागी हुन्छ । यस्तै यस्तै दृश्यले पर्यटकलाई मनोरञ्जन दिने गरिएको छ यहाँ ।

विगत ४–५ वर्षदेखि स्थगित ऐतिहासिक खेल अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता समेत यस वर्ष सौराहामा हुन लागेकाले आकर्षण थपिएको छ ।

हात्तीमाथि मान्छे बसेर लठ्ठीको सहायतामा पोलो बललाई गोल पोस्टमा छिराएर खेलिने खेल हो हात्ती पोलो । बल जता जान्छ, हात्ती पनि उतै लान्छ ।
हात्तीमा बसेका मान्छेले पोलो स्टिकको सहायतामा बल हानेर गोल गर्ने प्रयत्न गर्छ । यो खेल सन् १९८२ मा विश्वमै पहिलो पटक चितवनको मेघौलीमा सुरु भएको थियो ।

निकुञ्जभित्रको होटल टाइगर टप्स हटेपछि चितवनमा हात्तीपोलो खेल धर्मराएर २०६९ सालदेखि अन्य जिल्लामा गयो ।

टाइगर टप्स होटलले व्यक्तिगत रुपमै पछिल्ला वर्षहरुमा नवलपरासी र बर्दियामा गर्दै आएपनि चितवनमा भने यो खेल स्थगित भएको थियो । ‘मेघौलीको पुरानै स्थानमा खेलाउन स्थानीय पर्यटन व्यवसायीहरुलाई आग्रह गरिएपनि नसकेपछि सौराहामा यो वर्ष ल्याइएको हो,’ पोलो संयोजक सैंजुले भने । होटल टाइगर टप्सका कर्मचारी रामसिंह गुरुङ पुरानै ठाउँमा खेलाउने प्रयास असफल भएको बताउँछन् ।

उनका अनुसार हर्स पोलोको सिको गर्दै टाइगर टप्सका संस्थापक जिम एडवर्ड र सहयोगी मोन क्लार्कले विश्वमै पहिलो पटक नेपालमा सन् १९८२ मा पोलो भित्र्याएका थिए । त्यो पनि चितवनको मेघौलीमै भएको थियो ।

हाल नेपाल, थाइल्यान्ड लगायत विभिन्न देशमा विव हात्तीपोलो एसोसिएसनले पोलो खेलाउँछ । पोलो सुरु भएको जिल्ला चितवनमा पोलो हराउन लागेकाले यसपालि ल्याइएको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे बताउँछन् ।

थाइल्यान्डमा हात्तीहरु फलामे डोरीमा हिंड्छन्, पेन्टिङ्ग बनाउँछन्, टेबलमा बसेर नाच्छन् । अन्य विभिन्न गतिविधिमा सरिक हुन्छन् । तर त्यो तहमा नेपालमा हात्तीका खेलहरु हुन नसके पनि सौराहामा रोमाञ्चक खेल हुँदैआएको छ ।

यो वर्ष क्षेत्रीय होटल सङ्घ चिवतन सौराहाले संस्थागत रुपमा खेलाउन लागिएको पोलो दुई समूहमा ३÷३ वटा हात्तीलाई सहभागी गराइँदै छ । खेल १०, १० मिनेटको हुन्छ । यही पुस ११ देखि १५ गतेसम्म चल्ने चितवन हात्ती महोत्सवको थप आकर्षण हात्तीपोलो प्रतियोगिता हुने पक्का छ ।

पोलो खेलका लागि स्टिक बनाउने, बल ल्याउने र हात्तीलाई सिकाउने काम चुनौतीपूर्ण बन्यो । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनाल ठूलो सङ्घर्ष गरेर पोलो यसपालि ल्याइएको बताउँछन् ।

अमेरिकामा बस्ने नेपाली केमिका भण्डारीको पहलमा इंगल्यान्डबाट पोलो बल ल्याइएको छ । चितवनको काउलेबाट पोलो स्टिक ल्याइएको छ । संयोगवश भारतमा पोलो स्टिक बनाउने एकजना चितवनमा फेला पारेर स्टिक बनाउन दिइएको हो ।

अर्काे महत्वपूर्ण खेल हो हात्तीको छावाबीचको फुटबल । हात्ती आफैंले खुट्टाले हानेर फुटबल खेल्छ । यो झन् आश्चर्य र चाखलाग्दो हुन्छ । हात्तीले किपर छल्दै गरेको गोल अत्यन्तै रोमाञ्चक हुन्छ । छावाहरुको फुटबलमा आर्मी स्पोटर््स, सिजी फुड्स, प्रभु बैंक र अर्घाखाँची सिमेन्ट स्पर्धामा छन् ।

हात्ती महोत्सवअन्तर्गत हात्ती फास्ट वाक, गाडा, डुङ्गा दौड, हात्ती सुन्दरी प्रतियोगिता हुँदैछ । यो मौसममा पर्यटकहरु आ–आफ्नो घर फर्कने भएकाले त्यसलाई रोक्न १२ वर्ष अघिदेखि हात्ती दौडको रुपमा आयोजना गरिएको यो कार्यक्रम चितवन हात्ती महोत्सवसम्म आइपुगेको छ ।

हात्तीलाई कजाउने मात्रै होइन, खुवाउने पनि हो भनेर पिकनिकको पनि आयोजना गरिँदै छ ।

सुरुसुरु मै यो अभियानमा लागेकामध्ये एक गिरीधारी चौधरी अहिले हात्ती महोत्सवसम्मको आयोजना भएको देख्दा खुसी लागेको बताउँछन् । तर जनावरका अधिकारको वकालत गर्ने कतिपयले हात्तीका गतिविधिलाई जनावरको अधिकारसँग जोडेर खेलकुदमा सहभागी गराउन नहुने बताइआएका छन् । तर क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष शंकर सैंजु ढड्डी र साल रुखका भएको छुट्टै प्रकृतिको यहाँको वन भएकाले हात्तीमा चढेर बाघ गैंडा हेर्नुपर्ने विशिष्ट अवस्था रहेको बताउँछन् । यसैले चितवनमा हात्तीको छुट्टै महत्व देख्ने उनी जनावरको अधिकार संरक्षण गर्दै मानिस र हात्तीबीच सम्बन्ध बढाई पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा हात्तीका गतिविधि समावेश गर्न खोजिएको तर्क अघि सार्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री