आइतबार क्रिसमस मनाइँदै

e2dbe192a9d7aba37c3c1966904f30f5

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव भोलि (२५ डिसेम्बर) का दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुरयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो । “हाल नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिक स्थलमा पनि मनाइन्छ”– उहाँले भन्नुभयो ।

क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

क्रिसमसको अवसर पारेर महासङ्घले आइतबार दिउँसो राष्ट्रिय नाचघरमा महोत्सव कार्यक्रम राखेको छ ।

आइतबार बिदा

सरकारले इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गर्नुभएको विज्ञप्तिमा नेपालभर र विदेशस्थित नेपालका कूटनीतिक नियोगहरुमा पर्व विदाको रुपमा आइतबार बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री