कार्कीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मुद्दाको पेशी बुझ्न बिहीबार सर्वोच्च अदालत जाँदै । तस्बिर ः रोशन सापकोटा, रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मुद्दाको पेशी बुझ्न बिहीबार सर्वोच्च अदालत जाँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु गरेको हो ।

रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्र लगायतले बहस गर्नुभएको थियो ।

उहाँहरुले कार्कीको नियुक्ति संविधान विपरीत भएको कुरा राख्नु भएको थियो । भोलि ११ बजेदेखि सुरु हुने गरी आजको सुनुवाइ सकिएको छ ।

कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गर्नुभएको थियो । खारेज भइसकेको अधिवक्ता अर्यालको रिट निवेदन सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।

नेपाल बार एसोसिएसनको ६०औँ दिवस परेको भन्दै कार्कीविरुद्धको मुद्दा सार्नका लागि अधिवक्ता भीमआर्जुन आचार्य, माधव बस्नेत, कुमार रेग्मी, सुशील पन्त, कृष्ण सापकोटा, आनन्दराज लम्सालले निवेदन दिनुभएको थियो । तर आजको सुनुवाइ स्थगित भएन । यसअघि कार्कीको पक्षका अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका कारण सुनुवाइ स्थगित भएको थियो ।

कार्कीका पक्षबाट आज सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो । शुक्रबार विपक्षको तर्फबाट बहस हुनेछ । कार्कीको नियुक्ति संविधानसम्मत भए नभएको सुनुवाइपछि निर्णय आउनेछ ।

यसैबीच, मुद्दाको पेसी बुझ्नका लागि सर्वोच्च अदातलमा पुग्दा निलम्वित प्रमुख आयुक्त कार्कीमाथि आज दुई व्यक्तिले कालोमोसो दल्ने प्रयास गरेका थिए । कालोमोसो दल्न प्रयास गर्ने दुबै जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । पेसी बुझ्दै गर्दा कार्कीमाथि कालोमोसो लगाउने प्रयास गरिएको हो ।

दुई युवाले ‘माओवादी जिन्दावाद, भ्रष्टाचारी मुर्दावाद, जनआन्दोलनका दोषीलाई कारबाही गर, हत्यारालाई कारबाही गर’ भन्ने नारा समेत लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री