‘चीनको समृद्धिसँगै समृद्धि हासिल गर्ने नेपालको चाहना’

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेसँग मन्त्रालयमा शिष्टाचार भेट गर्दै जनवादी गणतन्त्र चीनको तिब्बत स्वाशासित क्षेत्रको पिपुल्स कँग्रेसका अध्यक्ष बाई मा चिलिन । तस्बिरः अशोक घिमिरे, रासस

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेसँग मन्त्रालयमा शिष्टाचार भेट गर्दै जनवादी गणतन्त्र चीनको तिब्बत स्वाशासित क्षेत्रको पिपुल्स कँग्रेसका अध्यक्ष बाई मा चिलिन । तस्बिरः अशोक घिमिरे, रासस

काठमाडौँ, ६ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले चीनको बढ्दो आर्थिक समृद्धिबाट सिर्जित अवसरको सदुपयोगबाट समृद्धि हासिल गर्ने नेपालको चाहना रहेको बताउनुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको तिब्बत स्वाशासित क्षेत्रका पिपुल्स कँग्रेसका अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले चीनको ‘एक क्षेत्र, एक मार्ग’(ओबिओआर) परियोजनाको नेपालले स्वागत गरेको तथा नेपाल एसियाली पूर्वाधार र लगानी बैंक (एआइआइबी) को संस्थापक सदस्य तथा बोर्ड अफ गभर्नर रहेको बताउँदै उक्त प्रयासले यस क्षेत्रको पूर्वाधार विकासमा गहनतम् भूमिका खेल्नेमा नेपाल सरकार विश्वस्त छ भन्नुभयो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको जनसरकारले नेपालका तिब्बतसँग सिमाना जोडिएका जिल्लामा सन् २००९ देखि पुरयाउँदै आएको खाद्यान्न तथा वस्तुगत सहायताका लागि धन्यवाद व्यक्त गर्दै उहाँले उक्त सहयोग नेपालको उत्तरी जिल्लाका स्थानीय बासिन्दाको जीवनयापनका लागि अतिउपयोगी साबित भएको बताउनुभयो ।

आगामी दिनमा यस्तो प्रकारको सहयोगमा निर्माण सामग्री, हेभी उपकरण तथा अन्य वस्तुगत सहायतामा केन्द्रित गर्न सकिएमा स्थानीय पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको उल्लेख गर्दै मन्त्री पाण्डेले यसका लागि सोसम्बन्धी विगतका सम्झौतामा परिमार्जन गर्नुपर्ने औँल्याउनुभयो । उहाँले चीनसँग सीमाना जोडिएका जिल्लाका सदरमुकाममा चीनका तर्फबाट सडक यातायातको सञ्जालले जोड्ने कुरामा द्विपक्षीय सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।

भेटका क्रममा पिपल्स कँग्रेसका अध्यक्ष बाईले चीन सरकारले भर्खरै लागू गरेको तेह्राँै पञ्चवर्षीय विकास आयोजनामा समेटिएको रेल्वे, सडक यातायातलगायत पूर्वाधार विकासका प्रयास ओविओआर अन्तर्गत दक्षिण एसियालाई जोड्नका लागि बनाइएको हो भन्नुभयो ।

उहाँले नेपालले आफ्नो भूमिमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिएकाले तिब्बत जनसरकारका तर्फबाट धन्यवाद दिँदै चीन ठूलो जनसङ्ख्या र भूगोलको भए पनि नेपाल र चीनको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको छ भन्नुभयो । सो अवसरमा मन्त्री पाण्डेले पिपल्स कँग्रेसका अध्यक्ष बाईलाई मायाको चिनोस्वरुप आँखीझ्याल उपहार तथा अध्यक्ष बाईले मन्त्रीलाई थाङ्का उपहार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री