प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ नेताको भेट

1482151611519_ros_ktm_161219img_0242

काठमाडौँ, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा आपसी हित र सामाजिक आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने बारे द्विपक्षीय छलफल भएको थियो ।

भेटमा उहाँहरुबीच दुई देशबीचमा आर्थिक एवम् राजनीतिक सम्बन्धलाई अझ प्रगाढ र सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिनुभयो ।

सो अबसरमा प्रधानमन्त्रीसँग चिनियाँ पक्षले ‘वान वेल्ट, वान रोड’ को विषय र नेपालको आर्थिक विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा चासो दिएको थियो । त्यस विषयमा नेपालबाट कुनै प्रस्ताव आओस् भन्ने चिनियाँ पक्षको चासो रहेको छ ।

त्यस्तै दुई देशबीचमा सडक एवम् रेल सञ्जालका विषयमा पनि कुराकानी भएको थियो । चिनियाँ रेल नेपालसम्म ल्याउने र तातोपानी नाका खोल्ने विषयमा प्रधानमन्त्री प्रचण्डले चासो व्यक्त गर्नुभएको थियो ।

छलफलका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपालको चाँडै भ्रमण गर्ने तर मिति तय नभइसकेको सल्लाहकार डा अधिकारीले बताउनुभयो ।

संविधान संशोधनका विषयमा चीनले यसलाई मिलाएर सकारात्मक रुपमा अगाडि बढोस् भन्ने इच्छा व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य ल्युले नेपालको नयाँ सरकारलाई चीनको सहयोग रहिरहने बताउँदै नेपालको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धताप्रति पनि आभार प्रकट गर्नुभएको थियो ।

ल्यु नेतृत्वको प्रतिनिधिमण्डल तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएको हो । नेपाल आएलगत्तै प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री