तिवारीको हत्यारालाई कारबाही गर्न एमालेको माग

durga-tiwari-19122016064953-1000x0

बुटवल, ४ पुस । युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको आज अपराह्न अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह–८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले छातिमा गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदहस्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिनुभयो ।

जिल्लाको देवदह नगरपालिका –६ खैरेनीका ४० वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालकसमेत रहेका युवा व्यवसायी छन् । करिब छ महिनाअघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बाचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पहिलेको आक्रमणमा संलग्नमध्ये आठजनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको र सो समूहका नाइके मनोज राना फरार रहेका छन् ।

दोषीलाई कारबाही गर्न एमालेको माग

नेकपा (एमाले) ले युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तिवारीको गोली हानी हत्या भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

एमालेका महासचिव इश्वर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याले उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका पैदा भएको जनाइएको छ ।

हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पङ्क्तिलाई पार्टी आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।

तिवारीलाई आज अपराह्न रुपन्देहीको देवदह–८ मा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री