राप्रपा संविधान संशोधनको विपक्षमा रहने

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमल थापा र चर्चित नायिका रेखा थापा । तस्बिर रोशन सापकोटा, रासस

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमल थापा र चर्चित नायिका रेखा थापा । तस्बिर रोशन सापकोटा, रासस

काठमाडौँ, २७ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान संशोधन प्रस्ताव ल्याउने बेलामा आफूहरुसँग परामर्श नगरिएकाले त्यसको पक्षमा उभिन नैतिक बन्धन नरहेको निष्कर्ष निकालेको छ ।

रापपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रवाराहीस्थित पार्टी कार्यालयमा आज बसेको बैठकले संविधान संशोधन विधेयकले प्रदेश नं ५ का जनताको भावनामा असर पुरयाएको, मधेसी मोर्चा र प्रमुख प्रतिपक्षदललगायतलाई असन्तुष्टि बढाएको भन्दै नयाँ शिराबाट दलहरुकाबीच समझदारी कायम गर्नुपर्ने माग गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तहको पार्टी एकीकरणको प्रतिवेदनअनुसार ५५ जिल्लामा एकीकरण भएको, १२ जिल्लामा विवादका कारण एकीकरण हुन नसकेको र आठ जिल्लामा एकीकरण गर्न बाँकी रहेको जानकारी गराइएको छ । विवादित जिल्लामा राप्रपा र राप्रपा नेपालका नेताले एक÷एक महिनाको समय अवधिमा आलो पालो प्राणलीबाट नेतृत्व लिने निर्णय बैठकमा भएको छ ।

यही मङ्सिर ३० देखि आगामी पुस ९ गतेसम्म तत्कालीन ‘पाँचै विकास क्षेत्र’मा क्षेत्रीय बैठक र आमसभा गर्ने निर्णय पनि बैठकले गरिएको जनाएको छ ।

यसअघि एक समारोहमा अध्यक्ष थापाले “समस्याको समाधान गर्ने थलो संसद् हो, प्रमुख प्रतिपक्षदललगायत दलले त्यसलाई अवरोध गर्न हुँदैन्” भन्दै मुलुकमा संविधान जारी भएपछि अब देश नयाँ चरणमा प्रवेश गरेको र संविधानले सबैका अधिकारलाई स्थापित गरेकाले यसले निर्दिष्ट गरेको विधि र प्रक्रियाबाट विद्यमान समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

चलचित्र अभिनेत्री रेखा थापालाई पार्टीको सदस्यता प्रदान गरी उनको राजनीतिक सफलताको कामना गर्दै उहाँले क्षमताका आधारमा जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीका नेता एवम् पूर्वमन्त्री सुनिल थापाले राष्ट्रलाई प्रजातान्त्रिक शक्तिको खाँचो रहेको औँल्याउँदै मुलुकमा स्थायित्व तथा राजनीतिक स्थिरता कायम गर्न राष्ट्रवादी शक्तिको एकता आवश्यक रहेको बताउनुभयो ।

पार्टी निकट महिला सङ्गठनका अध्यक्ष कुन्ती शाहीले न्याय तथा समतामूलक समाज निर्माण गरी देशमा सामाजिक रुपान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । समारोहमा नायिका थापाले हिन्दू धर्म तथा नेपाली समाजका परम्परागत मूल्य मान्यताको संरक्षण गर्न आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री