गुल्मी एघार दिनदेखि ठप्प, पाल्पा बन्द फिर्ता

06122016123059banda-gulmi-1-1-1000x0

तम्घास (गुल्मी), २५ मङ्सिर । सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी पाँच नम्बर प्रदेशबाट गुल्मीलाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको एघारौँ दिन आज यहाँ लाठी जुलुस प्रदर्शन गरिएको छ ।

सरकारले एघारौँ दिनसम्म पनि माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासमा लाठी लुजुस प्रदर्शन गरेका संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।

बन्दका कारण जिल्लाको जनजीवज कष्टकर बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखाना, सम्पूर्ण यातायात सेवा ठप्प छ । सङ्घर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेको छ । ग्रामीण भेगका मुख्यमुख्य व्यापारिक केन्द्रमा समेत प्रदर्शन कायमै राखिएको छ ।

पाल्पा बन्द फिर्ता

पाल्पा, २५ मङ्सिर । आन्दोलनकारीले अनिश्चितकालीन पाल्पा बन्द आजदेखि फिर्ता लिएका छन् । बन्द फिर्ता लिएपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।

सदरमुकाम तानसेन आसपासका क्षेत्रका बजार खुल्न थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले अर्को कार्यक्रम तय नहुँदासम्मका लागि बन्दका कार्यक्रम फिर्ता लिएको बताउनुभयो ।

सरकारले पाँच नम्बर प्रदेशबाट पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमलाई अलग गरी चार नम्बर प्रदेशमा राख्ने प्रस्ताव संसद्मा दर्ता गरेपछि नेकपा (माओवादी केन्द्र) बाहेकका राजनीतिक दलले मङ्सिर १५ गतेदेखि अनिश्चितकालीन बन्द गरेका थिए ।

एघार दिनदेखिको बन्दले जिल्लावासीलाई दैनिक कार्य सञ्चालन गर्न कठिनाइ भएको थियो । बन्दले तानसेनदेखि ग्रामीण भेगमा सञ्चालन हुने यातायातका साधन, शौक्षिक संस्था, उद्योग, व्यवसाय ठप्प रहेका थिए । पाँच नम्बर प्रदेशलाई अलग गर्न नहुने मागसहित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माले, अखण्ड नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा, पाल्पा उद्योग वाणिज्य सङ्घलगायत आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री