संविधान संशोधन प्रस्तावबारे प्रधानमन्त्री ओली टक्कर

Prachand-Oli

काठमाडौँ, १८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र मधेस केन्द्रित दलको सहमतिमा नै संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र)को जारी पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको सर्वस्वीकार्यता बढाउन सबै पक्षको छलफलमा नै अगाडि बढाइएको प्रस्तावलाई अहिले थाहा छैन भन्दै असन्तुष्टि प्रकट गर्नु जायज नभएको बताउनुभयो ।

सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव कुनै नयाँ विषय नभएको भन्दै प्रधानमन्त्रीले विगतमा नेपाली काँग्रेस, नेकपा(एमाले)लगायतका दलले प्रस्तुत गरेकै प्रस्तावलाई अगाडि बढाएको भन्दै अहिले आएर विरोध गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।

संविधानको सर्वस्वीकार्यता बढाएर मुलुकलाई निर्वाचनको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेका बेला सामान्य विरोध प्रदर्शन गर्नु स्वभाविक भए पनि संसद्को काम कारबाही नै अवरोध गरेर नयाँ ऐन कानुन बनाउन नै रोक्नु भने गलत रहेको उहाँको कथन थियो ।

बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहालले सरकारले सदनमा पेस गरेको संविधान संशोधन प्रस्तावमा सबै दलको सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

सरकार स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिँदै सहमतिभन्दा अरु विषय आफूले नचाहेको तर संशोधनमा सहमति जनाएर बाहिर आएर फरक कुरा गर्ने एमालेको प्रवृत्ति ‘दिउँसै रात पार्ने’ खालको रहेको उहाँले टिप्पणी गर्नुभयो ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक विषयमा धारणा राख्नुहुँदै प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव पारित गराएरै जाने पक्षमा आफू रहेको भए पनि त्यसो नभएको खण्डमा पनि निर्वाचनमा जाने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगले एकाध दिनभित्रै स्थानीय निकायको पुनःसंरचनाको खाका पेस गर्ने र सो प्रतिवेदनका आधारमा नै सरकारले निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पार्नुभयो ।

जारी पोलिटब्युरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेतालाई जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्रीले पार्टी कार्यालयमा ढुङ्गा हान्ने, शहिद स्मृति पार्क तोडफोड गर्ने कामले कोही कसैको फाइदा नगर्ने भन्दै हिमाल पहाड, तराई सबैलाई मिलाएर लैजान सरकार लागेको उल्लेख गर्नुभयो ।

पोलिटब्युरोका बैठक आइतबार पुनःबस्ने र अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

संशोधनविरुद्धको आन्दोलन सफल हुन्छ अध्यक्ष ओली

काठमाडौँ, १८ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताउनुभएको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको पक्षमा स्वतःस्फुर्तरुपमा जनसमर्थन बढेकोले प्रस्ताव विफल हुने बताउनुभयो ।

पञ्चायती व्यवस्था ढाल्न झापा विद्रोह र आन्दोलनले प्रभावकारी भूमिका निर्वाह गरे झैँ सरकारका गलत कदमको विरोध र जनअपेक्षा र जागरणका पक्षमा एमाले कहिले पनि नथाक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “त्यसबेला पनि पञ्चायती तानाशाहले आन्दोलन दबाउन कोसिस गरे तर हाम्रो झापा विद्रोहको धारले दमनलाई निस्तेज तुल्यायो । त्यसैले अहिले पनि हामी सफल हुन्छौँ । घाम र जुन रहुञ्जेल पञ्चायत रहन्छ भन्नेहरु हारेर गए, अब त घाम, जुन र धर्ती रहुञ्जेल एमाले रहिरहन्छ भन्ने दिन आएको छ ।”

कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानको स्मारिका ‘सुखानी’ को लोकार्पण पनि गर्नुभयो ।

तत्कालीन सरकारले विसं. २०२९ फागुन २१ गते वाम आन्दोलनमा लागेका चार युवा नेतालाई झापाको घनघोर जंगल सुखानीमा लगेर गोली हानी हत्या गरिएको थियो । तिनै सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेनसिंह राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा २०५६ सालमा प्रतिष्ठान स्थापना भएको थियो ।

कार्यक्रममा एमालेका नेताहरु अग्नि खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे र गोमा देवकोटाले पनि झापा आन्दोलनको बलिदानबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री