संविधान संशोधन र पूरक बजेटबारे प्रधानमन्त्रीले लिए एमालेसँग परामर्श

 

Prachand-Oli

काठमाडौँ, ९ मङ्सिर । संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल एमालेसँग परामर्श गर्नुभएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई बोलाएर संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरुप छलफल गर्नुभयो । भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमा समेत एमालेको सुझाव माग्नुभएको थियो ।

भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमासमेत सुझाव माग्नुभएको थियो । जवाफमा एमालेले संशोधनको प्रस्ताव असान्दर्भिक भएको बताउँदै अहिले पूरक बजेट ल्याउनुपर्ने आशयप्रति प्रश्न उठाएको थियो ।

प्रधानमन्त्रीसँग संविधान संशोधन र पूरक बजेटका सन्दर्भमा कुराकानी भएको एमाले उपाध्यक्ष भीमबहादुर रावलले राससलाई जानकारी दिनुभयो । “संशोधनको कुरा राष्ट्रको हितमा छैन, यसले अन्योल र अरु द्वन्द्व निम्त्याउन सक्छ, जसका लागि संशोधन गरिँदैछ, उनै विरोधमा रहेकाले कसका लागि संशोधन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,”,उहाँले भन्नुभयो । एमालेले पूरक बजेट कुन आशयका साथ ल्याउन लागेको हो र अहिले आएर किन समर्थन चाहियो भन्ने प्रश्न पनि प्रधानमन्त्री समक्ष राखेको उपाध्यक्ष रावलले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री कृष्णबहादुर महरा तथा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षद्वय वामदेव गौतम र रावल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री