मन्त्रीले भने, छुट्टै माछा मन्त्रालय असम्भव

भृकुटीमण्डपमा बिहीबारदेखि सुरु पाँच दिने तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताका क्रममा विभिन्न बाजागाजासहित आफ्नो भेषभूषामा सजिएर नगर परिक्रमा गर्दै थारु महिला । तस्बिर ः रत्न श्रेष्ठ, रासस

भृकुटीमण्डपमा बिहीबारदेखि सुरु पाँच दिने तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताका क्रममा विभिन्न बाजागाजासहित आफ्नो भेषभूषामा सजिएर नगर परिक्रमा गर्दै थारु महिला । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ९ मङ्सिर । कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताउनुभएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताउनुभएको हो । उक्त अवसरमा उहाँले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि संयोजक दिलसुन्दर श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्ने मुख्य आधार मत्स्यपालन भएको बताउनुभयो । महोत्सवमा माछासँग सम्बन्धित उपकरण, दाना, औषधि, सरकारी तथा गैरसरकारी संस्था एवम् अन्य कृषिउपजका गरी ४० वटा कक्ष रहेका छन् ।

‘माछा खाऔँ हो साथी नियमित खानामा माछा खाऔँ’ साङ्गीतिक कार्यक्रमका बीच आजदेखि माछा महोत्सव सुरु भएको हो । मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र कमन, सिल्भर, विगहेड, र ग्रासकार्पलगायत विदेशी प्रजातिका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार खान पाइने छ । महोत्सवमा माछा नखानेलाई रु १०० र परिकारको स्वाद लिनेलाई रु २५० प्रवेश शुल्क तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री